बागलुङमा आपराधिक घटना बढ्दै, सीसी क्यामराले गर्दैन काम (भिडियो रिपोर्टसहित)

२०७९ पुष १५ गते १८:१९
बागलुङमा आपराधिक घटना बढ्दै, सीसी क्यामराले गर्दैन काम (भिडियो रिपोर्टसहित)

१५ पुस २०७९ बागलुङ । बागलुङ बजारमा आपराधिक घटना दिनप्रतिदिन बढिरहेका छन् । तर, सुरक्षाका लागि महत्वपूर्ण सीसी क्यामरा भने बिग्रिएका छन् ।

सात वर्षअघि जडान गरिएका क्लोज सर्किट क्यामरा बिग्रिन थालेपछि सर्वसाधारण र व्यावसायी चिन्तित छन् । यसले शान्ति सुरक्षामा चुनौती थपिएको छ ।

बागलुङमा गत आर्थिक वर्षमा २४ वटा चोरी सम्बन्धी मुद्धा दर्ता भए । यो आर्थिक वर्षमा पनि अहिलेसम्म नौवटा मुद्धा दर्ता भइसकेका छन् । दर्ता नभएका सानातिना चोरीका घटनाको संख्या पनि उत्तिकै छ । सीसीटिभी नहुँदा यो संख्या अझ बढ्ने हो कि भन्ने चिन्ता व्यवसायीलाई छ ।

२०७१ सालमा बागलुङ नगरपालिका र जिल्लाको उद्योग वाणिज्य संघको सहकार्यमा बजारमा २९ वटा क्लोज सर्किट क्यामरा जडान गरिएको थियो । पछिल्लो समय सम्बन्धित निकायले बिग्रिएका क्यामरा मर्मतमा ध्यान नदिँदा सुरक्षाका लागि समेत चुनौती थपिएको छ । जनसंख्या वृद्धिसँगै सीसी क्यामेराको संख्या अपुग छ ।

अपराध नियन्त्रण र सामाजिक सुरक्षाका लागि जडान गरिएका सिसी क्यामेराको नियन्त्रण कक्ष जिल्ला प्रहरी कार्यालयमा राखिएको थियो । सिसी क्यामेरा बिग्रिएपछि नियन्त्रण कक्ष समेत प्रयोगमा आउन छाडेको छ । व्यवसायी र नगरवासीको निरन्तरको आग्रहपछि अहिले नगरपालिकाले सीसी क्यामेराको संख्या बढाउने तयारी गरिरहेको छ ।

अपराध न्यूनीकरण तथा अनुसन्धानमा सीसी क्यामरा निकै महत्वपूर्ण छ । आपराधिक गतिविधि बढ्दै जाँदा सिसीटिभी क्यामेरा जडान भएमा अपराधका घटना न्यूनिकरण हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *