पहिलोपटक वादी समुदायको प्रतिनिधित्व गर्ने सुशीला वादी निर्वाचित (भिडियो रिपोर्टसहित)

२०७९ पुष १० गते १८:०६
पहिलोपटक वादी समुदायको प्रतिनिधित्व गर्ने सुशीला वादी निर्वाचित (भिडियो रिपोर्टसहित)

१० पुस २०७९ बाँके । आफन्त र नातेदारलाई सांसद बनाउने राजनीतिक दलका कारण समानुपातिक प्रणाली बदनाम छ । तर, हिलोमै कमलको फुल्छ भनेझैँ नेपाली कांग्रेसको समानुपातिक प्रणालीबाट यस्तै फूल फुलेको छ ।

वादी समुदायको फूल । कांग्रेसले लुम्बिनी प्रदेशमा छनोट गरेको समानुपातिक सदस्यमा पहिलोपटक वादी समुदायको प्रतिनिधित्व गर्ने सुशीला वादी निर्वाचित हुनुभएको छ । सुशिलाको उपस्थितिले अहिले वादी समुदायमा खुसियाली छाएको छ ।

वादी समुदाय एक यस्तो समुदाय हो जो कुनै समय राजा–महाराजा र सामन्तहरूको दरबारमा नाचगान गर्न पुग्दथे । यही नै मुख्य पेसा थियो । आधुनिकतासँगै वादी समुदायको पेसा छायामा पर्दै गएपछि यो समुदाय आफ्नो पहिचानको लागी आवाज उठाउँदै आए । सीमान्तकृत समुदाय भएकाले संविधानले नै आरक्षणको व्यवस्था गरेको छ ।

यही व्यवस्थाका कारण वादी समुदायले पहिलोपटक सांसद पाएको छ । सुशीला वादी । लुम्बिनी प्रदेशसभामा नेपाली कांग्रेसको तर्फबाट समानुपातिक सांसदमा उहाँ चयन हुनुभएको छ । २०६५ सालदेखि राजनीतिमा आवद्ध भएर जीवनकै पहिलो सफलता सांसद बनेर हात पार्नुभएको छ ।

यसअघि दलित संघको वडाध्यक्ष र २०७८ सालमा जिल्ला कार्यसमिति सदस्यमा निर्वाचित उहाँ सांसद बन्नु नै वादी समुदायको खुसीको कारण बनेको छ । राज्य र समाजबाट अपहेलित भएको महसुस गर्दै आएका वादी समुदायले अहिले सुशीलासँग सुन्दर भविष्यको कल्पना गरिरहेका छन् । समुदायको जीवन शैलीमा परिवर्तन आउन सक्ने अपेक्षा गरेका छन् ।

नेपालमा भएको सशस्त्र द्वन्द्व र शान्ति प्रक्रिया सुरु भएपछि वादी समुदायले आफ्ना माग अघि सारे । सरकारले बस्ने घर र जमिन उपलब्ध गरायो । अहिले प्राय वादी समुदाय विभिन्न पेसा अँगालिरहेका भएपनि समाजले अझै हेयको दृष्टिले हेर्ने गरेको छ । त्यही सोच र अशिक्षा, गरिबी हटाउने योजनासहित सुशिला अब पाँच वर्षका लागि प्रदेश संसद प्रवेश गर्दैहुनुहुन्छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा छरिएर रहेका वादी समुदायको संख्या ३८ हजार छ । वादी जस्ता अनेक समुदाय छन् जो पहिचानको लडाइँमा छन् । यो लडाइँ जित्न सुशीला आशाको किरण मात्रै हुन् । यदि राजनीतिक दलले समानुपातिक प्रणालीलाई पहिचानको आधारमा मात्रै बाँडफाँट गरेको भए आज सुशीला जस्ता कयौँ समुदायले राज्य र दलप्रति विश्वास गर्ने वातावरण बन्न सक्थ्यो भन्ने चर्चा चुलिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *