कैलालीमा सुरक्षा चुनाैती, लुटपाटमा संलग्न फरार (भिडियो रिपोर्टसहित)

२०७९ पुष ५ गते २०:५०
कैलालीमा सुरक्षा चुनाैती, लुटपाटमा संलग्न फरार (भिडियो रिपोर्टसहित)

५ पुस २०७९ कैलाली । आइतबार यता कैलालीमा भएका दुई ठूला घटनाले सुरक्षा चुनौती बढाएको छ ।

सुनचाँदी व्यवसायीमाथि सशस्त्र प्रहरीको मुख्यालय नजिकै गोली प्रहार हुनु र धनगढी उपमहानगरमा चोरी गर्न गएको समूहले गोली चलाउनुले जिल्लाको शान्ति सुरक्षा खलबलिएको छ । तर, प्रहरीले घटनामा संलग्न भएकालाई पक्राउ गर्न सकेको छैन ।

आइतबार साँझ सशस्त्र प्रहरीको मुख्यालय अगाडि सुनचाँदी व्यवसायीमाथि गोली चलाएर ३५ तोला सुन र २ लाख नगद लुटियो । सोमबार मध्यरातमा धनगढी उपमहानगरपालिका वडा नम्बर ९मा गोली चल्यो । स्थानीय प्रजापति विष्टको घरमा चोरी गर्न आएका समूहको प्रतिकार गर्न खोज्दा चोरी गर्ने समूहले गोली चलायो । गोली लागेर विष्ट घाइते हुनुभएको छ । अटो रिक्साका ब्याट्री चोर्न आएकाहरुलाई विष्टले प्रतिकार गर्नुभएको थियो ।

उपमहानगरको वडा नम्बर ९ मा सशस्त्र प्रहरीको बिओपी छ । तर, तस्कारको सुरक्षामा ध्यान दिए पनि नागरिकको सुरक्षा गर्न भने असमर्थ रहेको नागरिकको आरोप छ । कैलालीको सुरक्षाको कमाण्ड समाल्ने जिम्मा पाएको जिल्ला प्रहरी कार्यालय घटनास्थलबाट ७ देखि १० किलोमिटरको दुरीमा भए पनि प्रहरीको गस्ती गाउँमा कहिल्यै नआएको नागरिकको गुनासो छ ।

जिल्लामा भएका दुई ठूला घटनाले नागरिक त्रसित छन । तर जिल्ला प्रहरी कार्यालय कैलालीले यसलाई सामान्य रूपमा लिएको छ ।

घटना भएको स्थान भन्दा करिव एक किलोमिटर नजिकै उपमहानगरपालिका–१० जुगेडास्थित् अस्थायी प्रहरी पोष्टका इञ्चार्ज, प्रहरी सहायक निरीक्षकलाई दुई बर्ष अघि तस्करले गोली हानेर हत्या गरेका थिए । मोटरसाइकलमा गस्तीमा निस्किएका बेला तस्कर समूहले नियन्त्रणमा लिएर हत्या गरेपछि त्यो क्षेत्र अहिलेसम्म त्रसित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *