फोहरले धानेको जिन्दगी (भिडियो रिपोर्टसहित)
३ पुस २०७९ हेटौंडा । गाँस, वास र कपासको व्यवस्था नहुँदा कतिपय नागरिक फोहरको डंगुरमा जीवन बिताउँछन् भन्दा तपाईलाई अनौठो लाग्न सक्छ ।
तर, बागमती प्रदेशको राजधानी हेटौडामा फोहर फाल्ने राप्तीखोला किनारमा रहेको डम्पिङ साइडमा ७० जनाले जीवन बिताइरहेका छन् । संविधानले प्रत्याभूत गरेको मौलिक हक समेत प्राप्त गर्न नसकेका कयौँ नागरिक डम्पिङमा आफ्नो जीवन गुजारिरहेका छन् ।
यो फोहरको थुप्रोमा भेटिने कसैको पनि आफ्नो घर छैन । कोही जंगलमै बस्छन्, कोही कोठा भाडामा लिएर बस्छन् । कोठा भाडामा लिएर बसेकाहरू बिहानै फोहरमा पुग्छन् भने साँझ घर फर्किन्छन् ।
जंगलमा निकै कष्टकर जीवन बिताइरहेकाहरू फोहरसँगै आएका खानेकुरा त खान्छन् नै जंगलमै पकाएर खान्छन्, सुत्छन् र बिहान सबेरै उही दिनचर्यामा लाग्छन् ।
फोहरमा प्लास्टिकका बोतल, सिसाका बोतल लगायत प्रयोगमा आउने वस्तुहरू खोजेर नजिकै रहेको फोहोर प्रशोधन गर्ने स्थानमा लैजान्छन् र विक्री गर्छन् । उनीहरूले सामानको विक्रीबाट आएको पैसाले नै जीवन धानेका छन् ।
फोहरमा साना बच्चादेखि वृद्धसम्म स्वस्थ्य सुरक्षाको पनि वास्ता नगरी फोहर केलाइरहेका भेटिन्छन् । त्यतिमात्र होइन पढ्ने आधारभूत शिक्षा हासिल गर्नुपर्ने बालबालिका समेत फोहोरकै थुप्रोमा प्लास्टिक टिपिरहेका छन् ।
नेपालको संविधान २०७२ को भाग ३ मा मौलिक हक अन्तर्गत धारा ३९ मा बालबालिकाको हकलाई १० वटा उपधारामा सुरक्षित गरिएको छ । जसमध्ये धारा ९ ले असहाय, अनाथ, अपाङ्गता भएका, द्वन्द्वपीडित एवम् जोखिममा रहेका बालबालिकालाई राज्यबाट विशेष संरक्षण र सुविधा पाउने हक हुने छ भनेर उल्लेख गरिएको छ । तर, व्यवहारमा भने लागू भएको छैन ।
संविधानको धारा १६ मा “सम्मानपूर्वक बाँच्न पाउने हक“ अन्तर्गत उपधारा ९१० मा “प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ“ भन्ने व्यवस्था गरिएको छ ।
स्वच्छ वातावरणको हक अन्तर्गत प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक तथा बातावरणीय प्रदुषण वा ह्रासबाट हुने क्षतिवापत क्षतिपूर्ति पाउने हक हुने व्यवस्था धारा ३० मा गरिएको छ । तर गाँस, वास र कपासकै लागि नागरिकले कष्टपूर्ण जीवन बाँचिरहेका छन् । यस्ता नागरिकको कथा कसले सुनिदिने, ब्यथा कसले बुझिदिने ?
प्रतिक्रिया