सडक सञ्जाल विस्तारले दिएको खुसी (भिडियो रिपोर्टसहित)

२०७९ पुष ३ गते १७:१८
सडक सञ्जाल विस्तारले दिएको खुसी (भिडियो रिपोर्टसहित)

३ पुस २०७९ धनकुटा । पहाडी तथा हिमाली जिल्लाको तराईसँग सडक सञ्जाल जोडिएको लामो समय हुँदा पनि एक पहाडी जिल्लाबाट अर्को जिल्ला जान तराई झर्नुपर्ने बाध्यता थियो । तर, पछिल्लो समय निर्माण भएका मध्य पहाडी राजमार्ग र अन्य सडकका कारण यो समस्याको अन्त्य भएको छ ।

२०३८ सालबाट धनकुटामा सवारीसाधन सञ्चालनमा आएको हो । यस्तै, सीमाना जोडिएको पाँचथरमा २०४२ सालबाट मात्रै यातायात सञ्चालनमा आयो । तर, पनि धनकुटाबाट पाँचथर पुग्न तराईका सुनसरी, मोरङ, झापा, इलाम हुँदै तीन सय किलोमिटरको यात्रा गरेर मात्रै पाँचथर पुग्न सकिन्थ्यो ।

धनकुटा र पाँचथर जस्तै तत्कालिन मेचीका इलाम, पाँचथर, ताप्लेजुङ, कोशिको धनकुटा तेह्रथुम, संखुवासभा, भोजपुर तथा सगरमाथाका खोटाङ्ग, ओखलढुङ्गा तथा सोलुखुम्बुको एक आपसमा सिमाना जोडिए पनि अवस्था उस्तै थियो । तर पछिल्लो समय सबै जिल्ला एक अर्कामा सडक सञ्जाल मार्फत जोडिएका छन् । त्यति मात्र होइन सडक सञ्जाल मार्फत पहाडै पहाडको संघीय राजधानी काठमाडौं पूर्वी पहाडसँग जोडिन पुगेको छ ।

यी जिल्लालाई एक आपसमा जोड्ने काम भने मध्य पहाडी राजमार्ग, भेडेटार–राजारानी–रबिराके, तमोर काबेली करिडोर लगायतका सडक सञ्जालले गरेको छ । भर्खरै मात्रै ट्र्याक खोल्ने काम पूरा भएका यी सडक स्तरोन्नतीको चरणमा छन् ।

पूर्वी पहाड र हिमालका जिल्ला एक आपसमा जोडिने गरि सडकको ट्र्याक खन्ने काम गरेपनि स्तरोन्नती नहुँदा सडक पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । तर, साना र निजी सवारी भने तिनै सडकमा कुदिरहेका छन् । सडक निर्माण भइसक्दासम्म विभिन्न जिल्लाबीच आर्थिक सामाजिक र सांस्कृतिक सम्बन्ध कायम हुने उद्योगीरव्यवसायीको अपेक्षा छ ।

त्यसो त नयाँ खोलिएको तमोर करिडोरमार्फत विराटनगरको रानी भन्सारबाट चिनियाँ बोर्डरसम्मको लम्बाई २ सय ७० किलोमिटर मात्र छ । यो भारतदेखि चीन सिमाना जोड्ने सबै भन्दा छोटो मार्ग समेत हो । यो सडकको निर्माण पछि पूर्वी नेपालको व्यापार समेत अझ फस्टाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *