ठेक्का लागेको सात वर्षमा पनि पुल नबन्दा सुस्ताबासीलाई यस्तो सास्ती (भिडियो रिपोर्टसहित)

२०७९ पुष २ गते १६:१७
ठेक्का लागेको सात वर्षमा पनि पुल नबन्दा सुस्ताबासीलाई यस्तो सास्ती (भिडियो रिपोर्टसहित)

२ पुस २०७९ नवलपरासी पश्चिम । भारतद्वारा अतिक्रमित नवलपरासी पश्चिमको सुस्ता गाउँलाई नेपालको अन्य भूभागसँग जोड्ने गरी नारायणी नदीमा झोलुङ्गे पुल निर्माणको ठेक्का लाग्दा परासीवासीमा खुसीको सीमा थिएन । तर ठेक्का लागेको सात वर्षमा पनि पुल निर्माण नभएपछि नागरिकको चाहना वास्तविकतामा परिणत हुने सम्भावना टर्दै गएको छ ।

भारतसँग विवादित भूमि भएको भन्दै प्रधानमन्त्रीदेखि राजनीतिक दलका नेता र सामाजिक अभियन्ताले नवलपरासी पश्चिम पुगेर चर्को भाषण गर्दछन् । अतिक्रमित भूमि नै फिर्ता ल्याउनेसम्मको आश्वासन पेश गर्छन् । तर, नागरिकलाई तत्काल आवश्यक रहेको नारायणी नदीमा पुल निर्माण भने अहिलेसम्म गर्न सकेका छैनन् ।

सात बर्षमा पनि सुस्ताको झलुङ्गे पुल बन्न नसक्दा सुस्ताबासीले सास्ती खेप्नु परेको छ । नारायणी नदी पारी रहेको भारतको विहारसंग जोडिएको नेपाली भूमि सुस्ता गाउँपालिका वडा ५ को एक गाउँ हो । यो गाउँलाई वडा कार्यालाय, गाउँपालिका कार्यालय र सदरमुकामसँग जोडने गरि सरकारले २०७२ सालमा झोलुङ्गे पुलको आयोजना दिएपनि ठेकेदारको चरम लापरवाहीले पुल निर्माण हुन सकेको छैन । निर्माण कम्पनीले समयमा पुल नबनाउँदा डुंगाकै भर पर्नुपर्ने बाध्यता छ ।

सरकारले २०७२ सालमा सुस्तामा पुल निर्माणको ठेक्का लगाएको हो । २०७४ असोजमा काम सक्ने जिम्मा दिइएको थियो । तर, निर्माण सुरु भएको ६ महिनामै ठेकेदार काम छोडेर भाग्यो । योसँगै नारायणीमा पुल निर्माण भएर डुंगाको यात्रा रोकिने आशा गरेका सुस्ताबासीको खुसी टुट्यो । योजनाको दोस्रो पटक थप गरिएको म्याद पनि २०७८ मा सकिएपछि फेरि म्याद थप भएको छ ।

काम करिब ७० प्रतिशत सम्पन्न भएको छ । १ हजार ५ सय ७१ मिटर लामो पुल निर्माणको जिम्मा त्रिशूली–आश्रय जेभीले २७ करोड रुपैयाँमा लिएको थियो । २ सय २५ वटा पाइलिङ र ठूला १४ वटा पिलरको निर्माण सकिएको छ । ठेकेदार पक्षले भने निर्माण सामग्रीको अभाव र कोरोना महामारीका कारण निर्माणमा ढिलाइ भएको बताउँदै आएको छ । जनप्रतिनिधिले भने छिटो निर्माण सक्न निर्माण कम्पनीलाई ताकेता गरिरहेको दावी गर्दै आएका छन् ।

सुस्ताको तीनतिर नारायणी नदी र एकातिर भारत बिहारको महाराजगन्ज जिल्ला पर्छ । यहाँका स्थानीयलाई अहिले पनि औषधि उपचार र किनमेलका लागि भारतीय सीमावर्ती बजार नै जानुपर्ने बाध्यता छ । नारायणी नदीमा पुल नहुँदा प्रशासनिक कामका लागि भने उनीहरू डुंगामा करिब आधा घण्टा जोखिमपूर्ण यात्रा गर्छन् । डुंगा पल्टिएर मानिस बेपत्ता हुने र सामान बगाउने धेरै पटक भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *