२० वर्ष उमेर पार गरेर विवाह गर्नेलाई ५० हजार उपहार (भिडियो रिपोर्टसहित)

२०७९ पुष १ गते १६:३३
२० वर्ष उमेर पार गरेर विवाह गर्नेलाई ५० हजार उपहार (भिडियो रिपोर्टसहित)

१ पुस २०७९ सर्लाही । बिहेवारी बीस वर्ष पारी भन्ने गरिए पनि व्यवहारमा भने कार्यान्वयन हुन सकेको छैन ।

यो समस्या मधेश प्रदेशमा अझ बढी छ । त्यसैले उमेर नपुग्दै विवाह गर्ने चलन न्यूनीकरण गर्न सर्लाहीको चन्द्रनगर गाउँपालिकाले २० वर्ष पारी विवाह गर्नेलाई ५० हजार रुपैंया उपहार दिने निर्णय गरेको छ ।

सर्लाहीको चन्द्रनगर गाउँपालिका वडानम्बर( २, की रेणुकुमारी सिंह वैवाहिक सम्बन्ध शुरु गर्दै हुनुहुन्थ्यो । आँगनमा जन्तीको लस्कर थियो । तराई मधेशमा विवाह समारोहमा बज्ने डिज्जेबाजाले गाउँनै गुन्जयमान थियो ।

एकै छिनमा सिंहका दुलहाको आगमन भयो । १६ श्रृंगारले धपक्क बलेकी रेणु पनि स्वयंवरस्थलमा आइरहँदा गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले दुलहीको हातमा ५० हजारको चेक दिनुभयो ।

चन्द्रनगर गाउँपालिकामा ६५ प्रतिशत विवाह बाल्यावस्थामै हुने गरेको छ । यसरी उमेर नपुगी विवाह हुँदा पढाइ बीचमै रोकिने, स्वास्थ्यमा समस्या आउने र यसले उनीहरुको भविष्य अन्धकारमय हुने गरेको छ । गाउँपालिकाको अभियानले बालबिवाह कम गराउन सघाउने अभिभावकको अपेक्षा छ ।

जनप्रतिनिधिले निर्वाचित भएर आए लगतै बालविवाह नियन्त्रण र छात्रालाई उच्च शिक्षा अध्ययनको लागि प्रोत्साहन गर्न अभियान संचालन गर्ने निर्णय गरेका थिए । त्यसै अनुसार गाउँपाललिकाले बिहेवारी २० बर्ष पारी र शिक्षामा छात्रालाई अनुदान कार्यक्रम संचालन गरेर रकम वितरण गरिएको छ ।

गाउँपालिका कार्यालयले बालविवाह अन्त्य गर्न तथा छात्रालाई उच्च शिक्षासम्मको अध्ययनमा प्रोत्साहन गर्ने गरी सुरु गरेको नयाँ अभ्यासले अहिले गाउँवासीमा उत्साह छाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *