नेपाली भाषाको पहिलो शिलालेखको यस्तो उपेक्षा (भिडियो रिपोर्टसहित)

२०७९ मंसिर २४ गते २०:३९
नेपाली भाषाको पहिलो शिलालेखको यस्तो उपेक्षा (भिडियो रिपोर्टसहित)

२४ मंसिर २०७९ दैलेख । दैलेखको दुल्लु नगरपालिकामा रहेको नेपाली भाषाको पहिलो शिलालेख कीर्तिखम्बा (कीर्तिस्तम्भ) गाई–गोरु बाध्न प्रयोग हुँदै आएको छ । संरक्षण गर्ने विषय औपचारिकतामा सीमित बन्दा इतिहास नै जोखिममा परेको छ ।

नेपाली भाषाको उत्पत्ति जुम्लाको सिन्जाबाट भएको मानिन्छ । यस कुराको प्रमाण दिनसक्ने आधार छैन । तर, नेपाली भाषामा पहिलो लिपिबद्ध गरिएको इतिहास दैलेखको दुल्लुमा छ । शिलालेख भएको कीर्तिखम्बा नेपाली भाषा सुरुवातको हो ।

आजभन्दा १ हजार ४२ वर्ष अघिको शिलालेखमा लेखिएका शब्दको अस्तित्व अहिले सङ्कटमा परेको छ । चौबाटोमा रहेको शिलालेखको संरक्षण नहुँदा जोखिममा बढ्दै गएको छ । आवश्यक प्रचारप्रसार, संरक्षण र आवश्यक सम्वद्र्धनको अभावमा शिला मक्किदै जँदा स्थानीय चिन्तित बनेका छन् ।

केही वर्ष अघि कीर्तिस्तम्भ व्यक्तिगत जग्गामा थियो । पहिलो शिलालेख इलाका हुलाक कार्यालयको नम्बरी जग्गामा थियो । जसलाई स्थानीयको निरन्तर दबाबपछि जग्गा खाली गर्न सम्भव भयो । तर, त्यति हुँदा पनि पुरातत्व विभाग र सरकारको नजरमा भने ऐतिहासिक शिलालेख पर्न नसकेको दुल्लुवासीको गुनासो छ ।

अहिले सुरक्षाका लागि दुल्लु नगरपालिकाले कीर्तिस्तम्भ वरपर तारबार लगाएको छ । नेपाली भाषा र साहित्यसँग जोडेर साहित्यिक पार्क निर्माणको योजना पनि नगरपालिकाको छ । नगरपालिकाका अनुसार यो क्षेत्रलाई अध्ययनस्थल बनाइने छ । तर, आवश्यक बजेट अभावका कारण अधिकांश योजना भने रोकिन पुगेको छ ।

सम्पदा पूर्खाले छोडेर गएको सम्पत्ति हो । भावीे पुस्ताको लागि जस्ताको तस्तै हस्तान्तरण गर्न चुनौती बन्दै गएको छ । नेपाली भाषाको पहिलो शिलालेखलाई संरक्षण नगर्दा सभ्यताको विकासबारे आगामी पुस्तामा ज्ञानको अभाव हुने चिन्ता थपिँदै गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *