स्वास्थ्य बीमा : सहज छैन सेवा लिन

२०७९ मंसिर २१ गते ८:१६
स्वास्थ्य बीमा : सहज छैन सेवा लिन

२१ मंसिर २०७९ रेसुङ्गा । स्वास्थ्य सेवा लिन जाँदा सुरुमा गएर लाइन लाग्नुपर्छ । पालो आएपछि टोकन पाइन्छ ।

टोकन पाएपछि पनि लाइनमै बसेर नाम दर्ता गराउनुपर्छ । नाम दर्तापछि टिकट पाइन्छ । टिकट लिएपछि पनि फेरि लाइनमै बसेर भित्र कोठामा टिकट दिनुपर्छ । टिकट भित्र दिएपछि बाहिर साँघुरो गल्लीमा घण्टौँ कुर्नुपर्छ । अनि बल्ल पालो आउँछ, एउटा बिरामीको स्वास्थ्य जाँच गर्न ।

अस्पतालमा हुने यस्तै झन्झटिलो प्रक्रिया झेल्न बाध्य हुनुभयो, गुल्मीको रेसुङ्गा नगरपालिका–७ का सुलोचन थापा । “स्वास्थ्य बीमाका कारण उपचारमा सहज भए पनि प्रक्रिया धेरै झन्झटिलो छ”, उहाँ भन्नुहुन्छ, “बिरामी भएर अस्पताल आउने हो, छिटो र सहज हुनुप¥यो”, उहाँले भन्नुभयो । बीमाका कारण आर्थिक राहत भए पनि सरकारी अस्पतालको उपचारमा ढिलाइ हुने थापाले बताउनुभयो ।

स्वास्थ्य बीमा गरेर पनि औषधि बाहिर किन्ने बाध्यतामा हुनुहुन्छ, रेसुङ्गा नगरपालिका–७ का ७३ वर्षीय चुरामणि आचार्य । उहाँले सुरुआती चरणमा नै स्वास्थ्य बीमा गर्नुभएको थियो । बीमाका कारण उहाँ सधैँ उपचारका लागि गुल्मी अस्पतालमै धाउनुहुन्छ । “आउँछु बीमाको कार्ड देखाउँछु ज्येष्ठ नागरिक भनेर छिटो–छरितो गर्छन् समयमै उपचार पाउँछु”, उहाँ भन्नुहुन्छ, “आधाभन्दा बढी औषधि बाहिर किन्न भन्छन्, यसरी त स्वास्थ्य बीमाको के अर्थ भयो र ?” उहाँले भन्नुभयो । स्वास्थ्य बीमा गरेपछि सबै रोगको उपचार र सबै औषधि निःशुल्क पाउनुपर्ने आचार्यको भनाइ छ ।

मुसिकोट नगरपालिका–२ देउरालीका इन्द्रबहादुर रायमाझी पनि स्वास्थ्य बीमा गरे पनि सबै औषधि निःशुल्क नपाएकामा चिन्तित हुनुहुन्छ । स्वास्थ्योपचार निःशुल्क हुने आशामा बीमा गरेको भन्दै रायमाझीले बीमा गर्नेहरूको उपचार निःशुल्क भएमा स्वास्थ्य बीमा अझै बढी प्रभावकारी हुने बताउनुभयो ।

रेसुङ्गा–१४ का एलिसा पाण्डे भने उपचारमा आफू सन्तुष्ट रहेको बताउनुहुन्छ । उपचारमा केही ढिलाइ भए पनि स्वास्थ्य बीमाका कारण आर्थिक हिसाबले कमजोर भएकाहरू पनि उपचारको पहुँचमा पुगेको उहाँले भनाइ छ । “केही कमी–कमजोरी रहे पनि स्वास्थ्य बीमामार्फत हुने उपचारको सेवा राम्रो छ”, उहाँ भन्नुहुन्छ, “सबैले अनिवार्य स्वास्थ्य बीमा गर्नुपर्छ”, पाण्डेले भन्नुभयो । नियमित औषधि प्रयोग गर्ने दीर्घरोगी र आकस्मिक बिरामी हुनेहरूलाई पनि स्वास्थ्य बीमाले धेरै राहत दिने भएकाले स्वास्थ्य बीमाबाट छुट्न नहुने उहाँको भनाइ छ ।

अस्पतालमा आकस्मिकबाहेक अन्य बिरामीका लागि भने स्वास्थ्य बीमा भए पनि वा नभए पनि उपचारको प्रक्रिया एकनासको रहेको छ । स्वास्थ्य बीमा बोर्डका अनुसार गुल्मीमा बीमा गर्नेहरूको सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएको छ । आर्थिक वर्ष २०७६÷७७ मा सात हजार आठ सय १७, २०७७÷७८ मा ५८ हजार तीन सय ९२ र २०७८÷७९ मा ९७ हजार दुई सय ४३ जनाले स्वास्थ्य बीमा गराएको बीमा बोर्डका दर्ता अधिकारी धुव्रराज बोगटीले जानकारी दिनुभयो ।

“तोकिएका रोगको मात्र उपचार हुने र तोकिएका औषधि मात्र निःशुल्क पाउने हो”, उहाँ भन्नुहुन्छ, “पोलियोबाट हुने अपाङ्गता, दाँतसम्बन्धीको रोग, सेतो छडी र वैशाखीलगायत केहीको शुल्क तिर्नुपर्छ”, उहाँले भन्नुभयो । स्वास्थ्य बीमा गरेपछि सबै रोगको उपचार र सबै औषधि निःशुल्क पाउनका लागि नीति नै परिवर्तन गर्नुपर्ने दर्ता अधिकारी बोगटीले बताउनुभयो । स्वास्थ्य बीमा गर्नका लागि प्रत्येक वडामा रहेका दर्ता अधिकारीसँग सम्पर्क गर्न सकिन्छ । जिल्लाका ९३ वडामा एक–एक जनाका दरले दर्ता अधिकारी हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *