जयनगर–कुर्था रेल मार्गमा चार दिन सेवा बन्द हुने

हिमालय टिभी
२०७९ कार्तिक ३० गते १४:५१
जयनगर–कुर्था रेल मार्गमा चार दिन सेवा बन्द हुने

३० कात्तिक २०७९ जनकपुरधाम । जयनगर–कुर्था रेल्वे मार्गमा बिहीबारदेखि चार दिन रेल सेवा बन्द हुने भएको छ ।

मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई दृष्टिगत गरी मङ्सिर १ गते बिहीबारदेखि मङ्सिर ४ गते आइतबारसम्म रेल सेवा बन्द रहने नेपाल रेल्वे कम्पनि लिमिटेडले जनाएको छ ।

निर्वाचनलाई लक्षित गरी ७२ घण्टा अघिदेखि भारतीय सिमानाका बन्द हुने भएकाले रेल सेवासमेत बन्द गरिएको नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले जानकारी दिनुभयो ।

मङ्सिर ५ गते सोमबारदेखि रेल सेवा नियमित रुपमा सञ्चालन हुने उहाँले बताउनुभयो । जयनगरदेखि महोत्तरीको बर्दिबाससम्म ७० किलोमिटर निर्माणाधीन रेलमार्गमध्ये जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर रेलमार्गमा गत २०७८ साल चैत २० गतेदेखि नियमित रेल सेवा सञ्चालन भइरहेको छ ।

यस्तै जिल्ला प्रशासन कार्यालय धनुषाले पनि मङ्सिर १ देखि ५ गतेसम्म शान्तिसुरक्षाबाहेक सबै सेवा बन्द रहने जनाएको छ । धनुषाका सहायक प्रजिअ अनुज भण्डारीले सूचना जारी गरी कार्यालयका अधिकांश कर्मचारी निर्वाचनमा खटिनुपर्ने भएकाले शान्तिसुरक्षाबाहेक सबै सेवा बन्द गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *