चितुवाको आक्रमणबाट बर्सेनि मारिन्छन् बालबालिका

हिमालय टिभी
२०७९ कार्तिक २१ गते ६:५८
चितुवाको आक्रमणबाट बर्सेनि मारिन्छन् बालबालिका

२१ कात्तिक २०७९ डुम्रे । तनहुँमा चितुवाको आक्रमणबाट बर्सेनि बालबालिका मारिने गरेका छन् । चितुवाको त्रासले घरको आँगनमा नै खुलेर खेल्न सक्ने अवस्था छैन ।

व्यास नगरपालिका–१२ छिर्कनेमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भयो । चितुवा आक्रमणबाट मङ्गलबार साँझ घरमै हजुरआमासँग बसिरहेका जगदीश कुँवरका छोरा अभिनभ कुँवरको मृत्यु भएको हो ।

घरमै खेलिरहेका बालकलाई चितुवाले आक्रमण गरी घिसारेर लगेको थियो । खोज्दै जाँदा घरदेखि करिब तीन सय मिटर पर बालकको शव फेला पारिएको थियो । पछिल्लो समय तनहुँमा चितुवा आतङ्क बढ्दै गएको छ । केही वर्षयता चितुवाले घरमै आएर बालबालिकामाथि आक्रमण गर्ने क्रम जारी छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका र आँबुखैरेनी गाउँपालिकामा चितुवाको आक्रमणबाट दर्जन बढी बालबालिकाले ज्यान गुमाइसकेका छन् । यस क्षेत्रमा चितुवा आक्रमणको त्रास कायमै छ । चार पालिकामा चितुवाको त्रास रहेकामा हाल व्यास नगरपालिकामा आक्रमण हुन थालेको छ ।

चितुवाको आक्रमणबाट विसं २०७४ देखि हालसम्म १४ बालबालिकाको ज्यान गएको छ । जङ्गलमा आहाराको अभाव हुँदा चितुवा बस्ती पस्ने र बालबालिकालाई आक्रमण गर्दै आएको डिभिजन वन कार्यालय तनहुँका सूचना अधिकारी एवं सहायक वन अधिकृत काशीराज पण्डितले बताउनुभयो । तनहुँमा लामो समयदेखि चितुवाको आतङ्कबाट जिल्लावासी त्रसित रहेको उहाँले बताउनुभयो ।

“यसको दीर्घकालीन समाधानका लागि चितुवाको आक्रमण हुनसक्ने घर वरपर झाडी नराख्ने, रातको समयमा बत्ती बाल्ने तथा बालबालिकालाई एक्लै छाड्नुहुँदैन । अभिभावकको साथमा बालबालिका सँगै राख्नुपर्छ । यसलाई केही न्यूनीकरण गर्न सकिन्छ,” पण्डितले भन्नुभयो ।

आक्रमण हुने स्थानमा अहिले चितुवाबाट जोगिन रातभरि बत्ती बाल्ने गर्छन् । घर वरपर उज्यालो बनाइए पनि चितुवाको आक्रमण भने न्यूनीकरण हुन सकेको छैन । त्यस क्षेत्रमा चितुवाले घरमै आएर बालबालिकामाथि बारम्बार आक्रमण गर्ने क्रम उस्तै छ । बन्दीपुर गाउँपालिका–१ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठ भन्नुहुन्छ, “चितुवाले दैनिकजसो बस्तीमै पसेर आक्रमण गर्ने गर्छ । चितुवाले प्रायजसो साँझपख आक्रमण गर्ने गरेको छ । केही दिनको फरकमा मात्रै बालबालिकामाथि आक्रमण गर्ने गरेको छ । यस क्षेत्रमा पहिले पनि चितुवाले पटकपटक आक्रमण गरिरहेकाले सबैजना सतर्क भएर बस्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

“अभिभावकले पनि आफ्ना बालबालिकालाई एक्लै जथाभावी छाड्नु हुँदैन । कतै जानै पर्ने अवस्थामा सँगै लिएर हिँडने वा घरमै सुरक्षित भएर बस्न आग्रह गरेका छौँ”, उहाँले भन्नुभयो । चितुवाले धेरैजसो साना बालबालिकालाई निसाना बनाउँदै आएको छ । विसं २०७४ फागुन १ गतेदेखि विसं २०७६ कात्तिक ११ गतेसम्म भानु नगरपालिकामा चितुवाले त्रसित बनाएको थियो । त्यसपछि शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका, भानु नगरपालिका र हाल व्यास नगरपालिकामा चितुवाले बालबालिकामाथि आक्रमण गर्न थालेको हो । चितुवा नियन्त्रणका लागि अहिले भानु नगरपालिका र बन्दीपुरका जङ्गलमा काठ र फलामको खोर राखिएको छ ।

मानव बस्ती नजिक खेतीपाती नगर्दा झाडी हुने भएकाले घर नजिकै चितुवा बस्ने र आफ्नो उचाइभन्दा कम भएका बालबालिकालाई आक्रमण गर्ने गरेको छ । आक्रमणको मुख्य न्यूनीकरण भनेको नै सरसफाई, वनजङ्गलमा जाँदा महिलाले रातो कपडा नलगाउने, साना बालबालिकालाई एक्लै नछोड्ने जस्ता सचेतनाका कार्यक्रममार्फत न्यूनीकरणको काम गरिएको छ । विशेषगरी साँझ र बिहानपख चितुवाले आक्रमण गर्न सक्ने भएकाले यस समयमा सर्वसाधारण सचेत हुनुपर्छ ।

जङ्गलमा आहारा नपाउँदा चितुवाले आहारा खोजीमा बस्तीतर्फ पसेर बालबालिकालाई आक्रमण गर्ने गरेको सहायक वन अधिकृत पण्डितले बताउनुभयो । “मृग, वन कुखुरा, खरायोलगायत वन्यजन्तुको मानिसले शिकार गरिँदिदा वनमा आराहाको अभाव भई चितुवाले मानिसलाई आक्रमण गर्न थालेको हो,” उहाँले भन्नुभयो ।

नरभक्षी चितुवा मार्न प्रशासनको आदेश
स्थानीय प्रशासनले निरन्तररूपमा तनहुँमा आतङ्क मच्चाइरहेको नरभक्षी चितुवा मार्न आदेश दिएको छ । प्रशासनले यही कात्तिक १७ गते बुधबार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ९(४) बमोजिम नरभक्षी चितुवा मार्न सशस्त्र प्रहरी र जनपथ प्रहरीलाई आदेश दिएको हो ।

व्यास नगरपालिका, बन्दिपुर गाउँपालिकाका साथै स्थानीय व्यक्तिहरूले नरभक्षी चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु हुन थालेपछि उक्त चितुवा मार्नुपर्ने भनी प्रतिवेदन उपलब्ध गराएपछि स्थानीय प्रशासनले सो चितुवा मार्न निर्देशन दिएको हो । चितुवाले कात्तिक १५ गते व्यास नगरपालिका–१२ छिर्कनेका आठ वर्षीय बालक, कात्तिक ४ गते बन्दीपुर गाउँपालिका–३ की ११ वर्षीया बालिकालाई आक्रमण गरी मारेको छ । बन्दीपुर गाउँपालिकाको वडा नं १, ३, ४ र ५ मा तथा व्यास नगरपालिकाको वडा नं ११ र १२ मा गरी चितुवाको आक्रमणबाट आठ घाइते र पाँच बालबालिकाले ज्यान गुमाएको जिल्ला प्रशासन कार्यालयलाई जानकारी दिएको छ ।

लामो समयसम्मको प्रयासबाट चितुवालाई नियन्त्रणमा लिन नसकिएपछि प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले गोली हान्न आदेश दिनुभएको छ । मानिस तथा घरेलु पशुचौपायामाथि पटकपटक आक्रमण हुने स्थिति विद्यमान रहेकाले उक्त त्रासदीपूर्ण वातावरणको अन्त्य गरी स्थानीय बासिन्दालाई जीउ ज्यानको सुरक्षाको अनुभूति दिन आवश्यक देखिएकोले सो हिंस्रक नरभक्षी चितुवालाई मारी मृत चितुवा डिभिजन वन कार्यालय तनहुँमा बुझाउन स्थानीय प्रशासन ऐन, २०२८ को दफा ९(४) बमोजिम अनुरोध गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले नरभक्षी चितुवा मार्ने सम्बन्धमा गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा, डिभिजन वन कार्यालय तनहुँ, सशस्त्र प्रहरी बल नेपाल, गण हेडक्वार्टर तनहुँ नं २३ गण मनकामना, व्यास नगरपालिकाको कार्यालय, बन्दीपुर गाउँपालिकालाई आवश्यक सहयोग गर्न बोधार्थ पठाएको छ ।

चितुवा नियन्त्रणका लागि खोर
डिभिजन वन कार्यालयले चितुवालाई नियन्त्रणमा लिन जङ्गलमा काठको खोर बनाएको छ । चितुवा नियन्त्रणका लागि खोर निर्माण गरी बाख्रा राखेर पासो थापेको छ । भानु नगरपालिका र बन्दीपुर गाउँपालिकाको केही जङ्गलमा काठको खोर बनाएर पासो थापिएको हो । भानुमा काठको पासो र बन्दीपुरको जङ्गलमा फलामको पासोसहितको खोर राखिएको छ ।

चितुवाले सबैभन्दा बढी भानुमा मानिसमाथि आक्रमण गरेको थियो । पछि वन कार्यालयले जङ्गलमा फुट ट्र«्याप, बाख्रासहितको पासो, निगरानी गर्नका लागि सिसी क्यामरा तथा चितुवाबाट बच्न विभिन्न सचेतनामूलक कार्यक्रम गरेको थियो ।

साँझमा बत्ती बाल्न आग्रह
चितुवाको आक्रमण हुने क्षेत्रमा साँझमा बत्ती बालेर उज्यालो राख्न डिभिजन वन कार्यालयले आग्रह गरेको छ । पटकपटक मानिसमाथि आक्रमण भएपछि चितुवाबाट जोगिनको लागि घर वरपर रहेका झाडी तथा जङ्गल फाँडेर सरसफाई गर्न पनि सूचना जारी गरिएको छ ।

चितुवाबाट जोगिन साँझ तथा रातको समयमा घर, गोठ उज्यालो राख्ने, घर गोठ बलियो बनाउने, झाडी सफा गर्ने, बिहान साँझ एक्लै नहिँड्ने, बालबालिकालाई एक्लै घर बाहिर नपठाउने, बच्चा तथा बृद्धहरुको विशेष रेखदेख गर्न पनि वन कार्यालयले आग्रह गरेको छ ।

मृत्यु हुने बालबालिका
तनहुँमा पहिलो पटक विसं २०७४ फागुन १ मा भानु नगरपालिका–३ दोरदोरका छ वर्षीय विशाल श्रेष्ठले ज्यान गुमाए । चितुवाको आक्रमणबाट विसं २०७५ कात्तिक २९ मा भानु नगरपालिका–४ का रञ्जिता लम्सालको ज्यान गयो ।

त्यस्तै विसं २०७५ मङ्सिर १५ मा भानु नगरपालिका–२ का १० वर्षीय अमृत गुरुङ, विसं २०७६ जेठ २४ मा सोही वडाका आठ वर्षीया पुष्पा अधिकारी, विसं २०७६ असोज २१ मा भानु नगरपालिका–१ का कुशल बानियाँ, विसं २०७६ कात्तिक ११ मा भानु नगरपालिका–२ का सात वर्षीय ऋतिक रोका, विसं २०७६ पुस १३ मा शुक्लागण्डकी नगरपालिका–३ का एक वर्ष १० महिनाका रविन नेपालीको चितुवाको आक्रमणबाट ज्यान गयो ।

त्यसैगरी विसं २०७६ पुस २१ मा आँबुखैरेनी गाउँपालिका–१ का आठ वर्षीय पुजन सिञ्जाली, विसं २०७६ माघ १३ मा बन्दीपुर गाउँपालिका–४ का ११ वर्षीय इशाक सुनार, विसं २०७७ साउन २१ मा शुक्लागण्डकी नगरपालिका–२ का नारन राना, विसं २०७८ असोज २५ मा बन्दीपुर गाउँपालिका–५ का आठ वर्षीया सुप्रिती थापा, विसं २०७९ असार १ मा बन्दीपुर गाउँपालिका–१ का पाँच वर्षीय सुप्रिम बगाले मगर, विसं २०७९ कात्तिक ४ मा बन्दीपुर गाउँपालिका–३ का दिना चेपाङ र विसं २०७९ कात्तिक १५ मा व्यास नगरपालिका–१२ छिर्कनेका अभिनव कुँवरको ज्यान गएको छ ।

पीडित परिवारलाई क्षतिपूर्ति
वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाएका बालबालिकाका परिवारलाई नेपाल सरकारले क्षतिपूर्तिको व्यवस्था गरेको छ । डिभिजन वन कार्यालयले मानवको मृत्यु तथा घाइते तथा वर्षैपिच्छे अन्नबाली क्षति, घरपालुवा जनावर तथा पशुपक्षीको क्षतिपूर्ति दिँदै आएको छ ।

डिभिजन वन कार्यालयले गत आर्थिक वर्षमा चितुवाको आक्रमणबाट क्षति पुगेका परिवारलाई क्षतिपूर्तिवापत राहत उपलब्ध गराएको छ । चितुवा र भालुको आक्रमणबाट मृत्यु तथा घाइते भएका १५ परिवारलाई क्षतिपूर्ति उपलब्ध गराएको हो । मृत्यु भएका १४ जनाको परिवार र घाइते भएका १६ जनाको परिवारलाई क्षतिपूर्तिस्वरुप राहत रकम उपलब्ध गराइएको छ ।

घाइतेको प्रकृतिअनुसार क्षतिपूर्ति उपलब्ध गराउने प्रावधान रहेको छ । सरकारको प्रावधानअनुसार मृतकका प्रतिपरिवारलाई रु १० लाख तथा घाइतेको अवस्था हेरी उपचार खर्च उपलब्ध गराइन्छ । गत आर्थिक वर्ष चितुवाको आक्रमणबाट ज्यान गुमाएका बालबालिकाको परिवारलाई रु १२ लाख उपलब्ध गराइएको छ । चितुवा आक्रमणबाट मृतकका परिवार र घाइतेका परिवारलाई हालसम्म रु एक करोड १६ लाख ४४ हजार पाँच सय ८० राहत दिइएको पण्डितले बताउनुभयो ।

उहाँका अनुसार चितुवा आक्रमणबाट मृत्यु भएका दुई जनाको राहत आउन बाँकी रहेको छ । एक सय ४७ पशुधन क्षति भएका कृषकलाई रु १४ लाख ६१ हजार पाँच सय क्षतिपूर्ति दिइएको उहाँले जानकारी दिनुभयो । वन्यजन्तुको आतङ्क रोक्न प्राकृतिकरूपमा वनमै वन्यजन्तुको आहारको व्यवस्थापन गर्नुपर्ने आवश्यकता देखिने पण्डितले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *