कांग्रेसको घोषणा पत्र: यस्ता छन् महत्वकांक्षी योजना र आश्वासन (भिडियो रिपोर्टसहित)

१४ कात्तिक २०७९ काठमाडौं । नेपाली कांग्रेसले घोषणा पत्र मार्फत मुलुकको विकास, समृद्धि र समाजिक सुरक्षाका क्षेत्रमा महत्वकांक्षी योजनाहरु ल्याएको छ। ६५ वर्षमै जेष्ठनागरिक भत्तादेखि निःशूल्क उपचारसम्म, बार्षिक लाखौंलाई रोजगारी दिने आश्वासन कांग्रेसले दिएको छ ।
कम्युनिष्टहरु स्रोत नखोजी बाड्ने कुरा मात्र गर्छन्, प्राय कांग्रेसीहरुले लगाउने आरोप हो यो । पार्टीको घोषणा पत्रमा होस् वा बजेटमा स्रोत नभई जबरजस्ती बाड्ने कार्यक्रमहरु राख्ने गरेको आरोप कांग्रेसीहरुले लगाउने गर्छन् । तर यो पटक पार्टीको घोषणा पत्र जारी गर्दा भने कांग्रेसले पनि बास्तविकतालाई भुलेर राज्य स्रोतमाथि दबाव सृजना गर्ने र जनतालाई कसरी खुसी पार्ने भन्नेमै केन्द्रित भएको देखिन्छ ।
कांग्रेसले घोषणा पत्र मार्फत ६५ वर्षभन्दा माथिका लागि जेष्ठ नागरिक भत्ता वितरण गर्ने, उनीहरुको निःशूल्क स्वास्थ्य बीमा गरिदिने, ३ वर्ष मुनि र ७३ वर्ष माथिका सबैको निःशूल्क उपचार गरिदिने आश्वासन दिएको छ ।
यस्तै गर्भावस्थामा निःशूल्क परीक्षण र पोषणको व्यवस्था गर्ने, ५ हजार सुत्केरी भत्ता दिने र १००० दिनसम्म पोषण कुपन दिने घोषणा पनि गरेको छ । यसलाई नेकपा एमालेले कांग्रेसको उल्टो यात्रा भनेको छ ।
कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वकै सरकारले चालू आर्थिक वर्षको बजेट मार्फत् जेष्ठ नागरिक भत्ता पाउने उमेर ७० बाट घटाएर ६८ मा झारेको हो । सामाजिक सुरक्षाका लागि सरकारले अहिले १ खर्ब ८९ अर्ब रुपैयाँ बजेट बिनियोजन गरेको छ ।
राजस्वबाट प्राप्त रकमले मुलुकको प्रशासनिक खर्च धान्ने नसक्ने अवस्था छ। यो अवस्थामा नगद बाड्ने भन्दा पनि जेष्ठ नागरिक, गरिब र पिछडिएका समूदायलाई स्वास्थ्य, सुविधा, प्रयाप्त हेरचाह र सहज जीवनयापनको प्रत्याभूति गराउन विज्ञको सुझाव छ ।
यसका साथै राजनीतिक अस्थिरता, स्पष्ट आर्थिक दृष्टिकोण अभावले आर्थिक क्षेत्र धरासायी बन्दै गएको अवस्थामा ७ प्रतिशत आर्थिक वृद्धि ५ वर्षमा १२ लाखलाई रोजगारी सृजना जस्ता महत्वकांक्षी घोषणा गरेको छ।
यतिमात्र होइन कांग्रेसले ५ वर्षभित्र आधारभूतबाहेक सबै स्वास्थ्य सेवा बिमामार्फत गर्ने प्रतिबद्धता जनाएको छ । संरचनात्मक सुधार, असल शासन र दह्रो नेतृत्व हुँदा पनि कांग्रेसले घोषणा गरेको योजनाहरु कार्यान्वयन गर्न मुलुकको स्रोतले धान्ने नसक्ने भएकाले जानकारहरुले कांग्रेसले कार्यान्व्यन गर्न भन्दा पनि मतदाता रिझाउन मात्रै यी विषय समावेश गरेको आरोप लगाएका छन् ।
प्रतिक्रिया