निर्माण शुरु भएको १३ वर्षमा पनि पूरा भएन दोरम्बाको शान्ति पार्क (भिडियो रिपोर्टसहित)

२०७९ कार्तिक ८ गते १७:०७
निर्माण शुरु भएको १३ वर्षमा पनि पूरा भएन दोरम्बाको शान्ति पार्क (भिडियो रिपोर्टसहित)

८ कात्तिक २०७९ रामेछाप । रामेछापको दोरम्बा बजारमा दोरम्बा घटनाको पीडा भुलाउन भन्दै निर्माण सुरु गरिएको पार्क १३ वर्षमा पनि बन्न सकेको छैन ।

२०६६ सालमा शान्ति पार्क निर्माण गर्ने गरी दुई करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भए पनि अहिले बजेट अभावलाई कारण देखाउँदै पार्क निर्माण अलपत्र बनेको छ ।

रामेछापको दोरम्बा गाउँपालिका २ दोरम्बा बजारमा निर्माणाधीन शान्तिपार्क अलपत्र परेको छ । निर्माण अन्तिमचरणमा पुग्दा बजेट अभाव भएपछि शान्तिपार्क अलपत्र परेको हो । पार्क निर्माण २०६६ सालबाट सुरु गरिएको थियो ।

पार्क निर्माणमा शान्ति मन्त्रालयले क्रमागत कार्यक्रममार्फत आर्थिक वर्ष २०६६ देखि ०७४ सालसम्म गरी करिब दुई करोड ५० लाख रुपैयाँ रकम खर्च गरिसकेको छ ।

२०६० सालमा दोरम्बामा २१ माओवादी कार्यकर्ताको सामूहिक हत्या गरेपछि त्यस भेगमा बसोवास गर्ने नागरिक गाउँ छाडेर अन्यत्र सरेका थिए । सरकार र विद्रोही माओवादी शान्तिवार्ता आएसँगै त्यस गाउँका त्रसित नागरिकलाई केही सान्त्वना दिन सरकारले शान्तिपार्क निर्माण अघि बढाएको थियो ।

निर्माणाधीन पार्कभित्र भवन, शौचालय, प्रतीक्षालय, घेराबारलगायतका संरचनाहरू निर्माण गरिने र भित्रै रिङरोड निर्माण गर्नेलगायतको इस्टिमेट थियो । हाल पार्कमा प्रतीक्षालय, पैदल हिँड्न प्रयोग गरिने सिँढी, शौचालय र प्रतीक्षालय निर्माण भएका छन् । शौचालय निर्माण भए पनि झ्याल–ढोका राखिएको छैन ।

पार्कमा लगाइएको घेराबारसमेत भत्किएर क्षतविक्षत बनेका छन् । मन्त्रालयबाट बाँकी बजेट आउन नसके पनि स्थानीय सरकार गठन भएपछि बजेट आउने र पार्क निर्माणले पूर्णता पाउने स्थानीयले अपेक्षा राखेका थिए । तर, स्थानीय सरकारले पनि निर्माणमा बेवास्ता गरेको उनीहरूको दुःखेसो छ ।

स्थानीय तहका जनप्रतिनिधिले न आवश्यक बजेट व्यवस्थापन गर्न सके नत प्रदेश र संघमार्फत नै बजेट ल्याउन सके । दोरम्बा घटनाको पीडा भुलाउने भनेर सुरु गरिएको पार्क अझै निर्माण नहुँदा पीडितले घाउमा मलहम लगाएको महसुस गरेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *