भग्नावेशमा परिणत हुँदै दैलेखका ऐतिहासिक र धार्मिक सम्पदाहरु (भिडियो रिपोर्टसहित)
![भग्नावेशमा परिणत हुँदै दैलेखका ऐतिहासिक र धार्मिक सम्पदाहरु (भिडियो रिपोर्टसहित)](https://www.himalayatv.com/wp-content/uploads/2022/10/dailekha-sampada.jpg)
८ कात्तिक २०७९ दैलेख । सम्पदा संरक्षणका लागि सरोकार निकायले चासो नदिँदा दैलेखका धार्मिक ऐतिहासिक एवं पर्यटकीय सम्पदा दिन प्रतिदिन जीर्ण बन्दै गएका छन् ।
कतिपय सम्पदा हँसियामा शान लगाउन प्रयोग भएका छन् भने केही सम्पदा शौच गर्ने थलो बनेका छन् ।
कर्णाली प्रदेशका जुम्ला, हुम्ला, तथा मानसरोवरतर्फ जाने एकमात्र बाटो दैलेखमा धार्मिक, ऐतिहासिक, पर्यटन, पर्यटकीय पदयात्राका रुपमा समेत विकास गर्न सकिने सम्भावना प्रशस्त छ । तर स्थानीय र प्रदेश सरकारले चासो नदिँदा पर्यटकीय सम्पदा ओझेलमा परेका छन् ।
नेपाली भाषाको उत्पत्ती जुम्लाको सिंजा राज्यलाई मानिए पनि नेपाली भाषाको सबैभन्दा पुरानो अभिलेख दैलेखको दुल्लुमा छ ।
अहिलेसम्मको अध्ययनअनुसार सबैभन्दा पुरानो मानिएको तामुपाल, अढाईपालले लेखेको विस १ हजार ३८ को शिलालेख पनि दुल्लुमा छ । यस्तै विक्रम सम्वत १४ सय १४ को पृथ्वी मल्लले बनाएको सात हात लामो कीर्तिस्तम्भ पनि दुल्लुमै छ ।
नेपाली भाषाको वि. सं. १ हजार ३८ को किर्तिखम्ब साथै नेपाली भाषा सुरुवातको ९ सय ३८ बर्ष पुरानो पहिलो शिलालेख समेत दुल्लु क्षेत्रमै छ । तर संरक्षण नहुँदा यी संरचना दयनीय बन्न पुगेका छन् । त्यसैगरी विश्व सम्पदामा सूचीकृत नारायण नगरपालिका ३ भुर्तिको २२ देवल शौच गर्न थलो बनेको छ । गत आर्थिक वर्षमा प्रदेश सरकारले संरक्षणका लागि घेरवार गरेपनि अहिले ती सबै भाँचिएका छन् ।
यो लगायत बाटैभरि रहेका ढुगांका खम्बाहरु, कुईकाना, जाहारकोट, किमुगाउँ, काँसीकाँध, बेहुली र देउलीका पञ्चदेवल पनि पुरातात्विक स्थलमध्येकै नमूनाका रुपमा चिनिन्छन् । संरक्षण र प्रवर्द्धन गरेर दैलेखलाई धार्मिक पर्यटकीय क्षेत्र घोषणा गर्नुपर्ने स्थानीयको माग छ ।
पुरातात्विक शैलीमा निर्मित दुल्लुका अन्य देवल र खम्बा भएका स्थानहरुमा समेत कलात्मक रुपमा कुँदिएका ढुगे धाराहरु देख्न पाइन्छ । विशेषगरी बडलम्जी गाविसको लम्जीमा अवस्थित पञ्चदेवल त्यहाँ नजिकै रहेको बाणगंगा नामले चिनिने ढुंगेधारा विशेष महत्वको हो ।
प्रतिक्रिया