बाजुराका स्याउ शहरी क्षेत्रका उपभोक्ताको रोजाइमा (भिडियो रिपोर्टसहित)

२०७९ असोज २८ गते १८:५३
बाजुराका स्याउ शहरी क्षेत्रका उपभोक्ताको रोजाइमा (भिडियो रिपोर्टसहित)

२८ असोज २०७९ बाजुरा । बाजुराका किसानका लागि स्याउ नै आमदानीको श्रोत बनेको छ । जिल्लामा उत्पादित स्याउ शहरी क्षेत्रका उपभोक्ताको रोजाइमा परेपछि अहिले बाजुरावासी स्याउबाट मनग्ये आम्दानी गरिरहेका छन् ।

बाजुराको हावापानीमा फलेको अर्गानिक स्याउ रसिलो र स्वादिष्ट हुने भएकाले अहिले सुदूरपश्चिम प्रदेशका शहरी क्षेत्रमा यसको निकै माग छ । वर्षभरि भारतबाट आयात हुने स्याउ किनमेल गर्ने बानी परेका उपभोक्ता स्वदेशमै उत्पादन भएको स्याउ आफ्नै बजारमा पाउँदा खुसी छन् ।

उता, बाजुरावासी पनि नयाँ जातको स्याउ फलाएर बेच्न पाउँदा दंग छन् । २०७५ साल चैतमा गौमुल गाउँपालिकाको कृषि विकास शाखाले एग्रोमनाङ्बाट फुजी, गाला र गोल्डेन जातको पाँच सय बोट ल्याएर गौमुल–१ को वृन्दावन समूहको अन्द्रारीमा खेती सुरुवात गरिएको थियो । त्यसको एक वर्षमै स्याउ फल्न थाल्यो । अहिले यही स्याउ बाजुरावासीको आयआर्जनको स्रोत बनेको छ ।

कृषि ज्ञान केन्द्र बाजुराका अनुसार गौमुल गाउँपालिका लगायत जिल्लाका अन्य पालिका, बुढिनन्दा, स्वामिकार्तिक, हिमाली र जगन्नाथ गाउँपालिकामा गरी जिल्लाभर १ सय ७० हेक्टर क्षेत्रफलमा १ हजार २० मेक्ट्रिक्टन स्याउ उत्पादन हुने गरेको छ ।

निकै मिठो र अर्गानिक मानिएको बाजुराको स्याउ उपभोक्ताको पहिलो रोजाइमा पर्दै आएको छ । व्यापारी बोटबाटै स्याउ खरिद गर्दा विस्तारै बाजुरावासीको आम्दानी बढ्दै गएको जनप्रतिनिधिको दावी छ ।

विगतका वर्षमा किसानले लगाएको स्याउ बजार नपाएर बारिमै कुहिने गरेको थियो । तर, कृषि ज्ञान केन्द्र बाजुराले बजारीकरणको व्यवस्था गरेर बाजुराको स्याउ जिल्ला बाहिर पठाउन थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *