कांग्रेसले अर्थविद् डा स्वर्णिम वाग्लेलाई टिकट नदिएकोप्रति बाबुराम भट्टराईको असन्तुष्टि (भिडियो रिपोर्टसहित)

२८ असोज २०७९ काठमाडौं । नेपाली राजनीतिमा अस्थिरताका विम्ब बनेका डा. बाबुराम भट्टराई मंसिर ४ को निर्वाचनमा रिङ बाहिर हुनहुन्छ । पूर्वसहकर्मी पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्र छाडेर चर्चामा आएका भट्टराई पछिल्लो समय आफ्नै बेलगाम बोलीका कारण पनि विवादमा पर्न थाल्नुभएको छ ।
नेपालमा चलेको १० वर्ष लामो सशस्त्र संघर्षका पोस्टरब्याय हुनुहुन्थ्यो, बाबुराम भट्टराई । एसलएलसीका गोल्ड मेडलिस्टका रुपमा युद्धकालभरि नै भट्टराईका बारेमा अनेक मिथहरु पनि थिए । तर, जब भट्टराई शान्तिपूर्ण राजनीतिमा आउनुभयो, उहाँबारेमा भ्रमहरु विस्तारै खुल्दै गए । भट्टराई स्वयं कति अस्थिर नेता हो भन्ने कुरा बुझ्न उहाँको दल परिवर्तनको श्रृंखला मात्रै होइन उहाँकै यी पछिल्लो अभिव्यीक्त हेरे पुग्छ ।
–माओवादी केन्द्र भनेको रातो स्टिकर टाँसेको घर हो, बस्न नमिल्ने भइसक्यो ।
–बुढीगण्डकी परियोजनामा प्रचण्डसहितका शीर्ष नेताहरुले करोडौं पैसा खाए ।
–पुराना पार्टीबाट चल्दैन, अब वैकल्पिक राजनीतिबाट मात्रै देशको परिवर्तन सम्भव छ ।
–स्वतन्त्र उम्मेदवारहरु लोकतन्त्रका लागि खतरा हुन् ।
कुनै समय यो हदसम्मको अभिव्यक्ति दिएका भट्टराई अहिले उनै प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्र छोडेर लोकप्रिय बन्ने प्रयासमा हुनुहुन्छ । तर उहाँका दुई जिब्रे अभिव्यक्तिले लोकप्रिय होइन थप आलोचित बनाइरहेका छन् ।
अझ कुनै बेला वैकल्पिक राजनीतिको वकालत गर्न आइपुगेका भट्टराईले स्वतन्त्र उम्मेदवारहरुलाई लोकतन्त्रकै लागि खतरा देख्दा धेरैले आश्चर्य मानेका छन् ।
उसो त बाबुराम भट्टराईको राजनीतिक जीवनलाई हेर्दा भट्टराई लामो समय नेपालको लोकतन्त्रका लागि खतरा बन्नुभयो । ०५२ देखि ०६२ सालसम्म बाबुराम नेतृत्वको सशस्त्र युद्धबाट लोकतन्त्र बचाउन धेरै निहत्था नागरिकले ज्यान नै दिनुपर्यो ।
लोकतन्त्र र फरक आस्था राखेबापत भट्टराई नेतृत्वको तत्कालिन जनसरकारले धेरै मानिसलाई गाउँ छाड्न बाध्य मात्र पारेन, धेरैको कत्लेआम नै गर्यो । ब्यालेट होइन बुलेटबाट राज्यसत्ता जन्मन्छ भन्ने विचारका अभियन्ता उनै बाबुरामले आफ्नो विचारसहित चुनावमा लड्छु र आफ्ना योजना साकार गर्छु भनेर मैदानमा आएका स्वतन्त्रलाई लोकतन्त्रका लागि खतरा देख्नु बाबुरामको अस्थिर चिन्तन कै उपज नभएर के भन्ने ?
प्रतिक्रिया