सडक बालबालिका संरक्षणमा रेसुङ्गा नगरले गर्‍यो उदाहरणीय कार्य (भिडियो रिपोर्टसहित)

२०७९ असोज २५ गते १८:३५
सडक बालबालिका संरक्षणमा रेसुङ्गा नगरले गर्‍यो उदाहरणीय कार्य (भिडियो रिपोर्टसहित)

२५ असोज २०७९ गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले सडक बालबालिकाको व्यवस्थापन गरेको छ । नगरपालिकाले जिल्लाका १८ जना बालबालिकालाई अर्धवार्षिक व्यवस्थापन गरेको हो ।

गुल्मीको रेसुङ्गा नगरपालिकाले संरक्षण नपाएका बालबालिकाको लागि शिक्षा, स्वास्थ्य, सुरक्षा, खेलकुद र उनीहरुको निगरानी समेत हुने गरि व्यवस्थापन गरेको छ । पहिचान भएका १८ जना बालबालिकामध्ये मालिका गाउँपालिकाका ६ जना, रेसुङ्गगा नगरपालिका, इस्मा गाउँपालिका र धुर्कोट गाउँपालिकाका ३÷३ जना, मदाने गाउँपालिकाका १ जना, प्यूठान र बाग्लुङ्गका १÷१ जना छन् ।

अहिले विद्यालयमा बिहान ६ बजे देखि साँझ ६ बजेसम्म विद्यालयमा उनीहरूलाई व्यवस्थापन गरिएको छ । त्यसपछि होस्टेलमा राख्ने व्यवस्था मिलाइएको छ । सडकमा मागेर खानुभन्दा अहिले विद्यालयमा पढ्न पाउँदा बालबालिका पनि हर्षित छन् । विद्यालयमा आएपछि उनीहरूमा परिवर्तन समेत देखिन थालेको छ ।

पढ्ने, लेख्ने र आफ्नो भविष्यको लागि केहि गर्ने उमेरका बालबालिका सडकमा माग्दै भौतारिनु परेको अवस्थालाई देखेर व्यवस्थापनमा लागेको नगरपालिकाले जनाएको छ ।

हाल बालबालिकाको अर्धवार्षिक व्यवस्थापनपछि उनीहरूको स्वभावमा सुधार आएको छ । अब दोस्रो चरणको व्यवस्थापन र अभिभावकसँगको दीर्घकालीन व्यवस्थापन अगाडि बढाउने नगरपालिकाको योजना छ ।

बालबालिकाका लागि होस्टेल सञ्चालन र व्यवस्थापन महेन्द्र नमुना माध्यमिक विद्यालय, शिक्षक व्यवस्थापन रेसुङ्गा नगरपालिका, सुरक्षा प्रबन्ध जिल्ला प्रहरी कार्यालय र स्वास्थ्य परीक्षण र उपचार गुल्मी अस्पतालले गरेको छ ।

यस्तै, खेलकुद व्यवस्थापन जिल्ला खेलकुद विकास समिति र नियमित निरीक्षण, अनुगमन र सुपरिवेक्षण शिक्षा विकास तथा समन्वय इकाईले गर्ने गरेको छ । बालबालिकाको स्थायी घर भएका पालिकाले पनि आर्थिक सहयोग गर्ने सहमति भएको छ ।

सडक बालबालिकाको लागि पहिलो चरणमा अर्धबार्षिक व्यवस्थापन गर्न नगरपालिकाको ३ लाख ५० हजार, मालिका गाउँपालिकाको ३ लाख, धुर्कोट गाउँपालिकाको १ लाख ५० हजार संकलन भएको छ ।

यस्तै, इस्मा गाउँपालिकाको १ लाख ५० हजार, मदाने गाउँपालिकाको ५० हजार र शिक्षा विकास तथा समन्वय इकाईको १ लाख ७६ हजार गरि कूल ११ लाख ७६ हजार संकलन हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *