किन भइरहेको छ शहीदको सालिककै अवमूल्यन ? (भिडियो रिपोर्टसहित)

२०७९ असोज २२ गते १८:०२
किन भइरहेको छ शहीदको सालिककै अवमूल्यन ? (भिडियो रिपोर्टसहित)

२२ असोज २०७९ दाङ । देशमा हुने हरेक परिवर्तनमा सहादत प्राप्त गरेका व्यक्तिलाई राज्यले योगदानका आधारमा शहीद घोषणा गर्दछ । त्यस्ता व्यक्तिको सम्मान स्वरुप कतिपय स्थानमा सालिक निर्माण गरिन्छ । तर, दाङमा भने शहीको सालिककै अवमूल्यन भएको छ ।

दुबै हात चुँडिएका छन् । दुबै आँखा निकालिएको छ । अनि भाँचिएको गर्धनलाई बोराले अड्याएको छ । नाक, मुख र अनुहार पनि सद्दे छैनन् । एक स्तम्भमा ठडिएका शहीदको अवस्थाको यो जर्जर दृश्यले जो कोहीलाई पनि भावुक बनाउँछ ।

घोराही–१३ को पर्यटकीयस्थल बाह्रकुने दहको प्रांगणभित्र रहेको प्रतीक्षालयमा शहीद चेतप्रसाद श्रेष्ठको शालिकको यस्तो अवस्थामा छ । अहिलेको व्यवस्थाको लागि शहीद भएका श्रेष्ठको सालिक यही व्यवस्थाले मास्दै छ ।

घोराहीकै गुलरियामा रहेको मन्दिर रंगरोगन गरेर चिरिच्याट्ट छ । तर सँगै रहेको शहीदको सालिक जीर्ण छ । हरेक वर्षको जेठ ६ गते एउटा खादा फेर्छ र माला पाउँछ । तर यस्ता शालिकको न स्थानीयलाई संरक्षणको जिम्मा दिइन्छ न सरकारले गर्छन् ।

कतिपय अवस्थामा शहीदको योगदानलाई सामान्य ढंगले लिने र शहीदलाई ओझेलमा पार्ने काम भएको छ । घोराहीको गुम्राचोकको अवस्था हेर्दा जानाजान बेवास्ता गरे झैं देखिन्छ । परिवर्तनका निम्ति गरिएका जुनसुकै आन्दोलनमा सहादत प्राप्त गरेका हरेक व्यक्ति राष्ट्रका शहीद हुन् । उनीहरु सबैलाई समान सम्मान दिनुपर्ने राजनीतिक दल बताउँछन् ।

संस्कृतिविद् पनि शहीदको सम्मानमा सबै तहका सरकारले अपनत्व लिनुपर्ने बताउँछन् ।

विभिन्न सार्वजनिक स्थानमा राखिएका र राज्यले मान्यता दिएका सबै शहीद तथा सम्मानित व्यक्तिका सालिकको संरक्षण गर्ने काम स्थानीय सरकारकै भए पनि संरक्षणमा ध्यान पुग्न नसकेको घोराही उपमहानगरपालिका स्वीकार गर्छ ।

दाङमा साना ठूला गरी शहीदको १५ वटा सालिक छ । जसले व्यवस्था परिवर्तनका लागि बन्दुक उठाए र शहीद भए, बिडम्बना सम्बन्धित निकायले उनीहरूको सालिकलाई भने संरक्षण गर्न सकेन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *