टिकट काट्दादेखि बसमा चढ्दासम्म यात्रुले भोगे यस्तो सास्ती (भिडियो रिपोर्टसहित)

१५ असोज २०७९ काठमाडौं । काठमाडौंबाट दशैंको छैटौं दिन पाँच लाख बढी सर्वसाधारणले राजधानी छाडेका छन् । तर, जसोतसो घर फर्किए पनि टिकट काट्दादेखि बस चढ्दासम्म यात्रुले अनेक सास्ती बेहोर्नु पर्यो ।
दशैं मान्न काठमाडौंबाट दाङ फर्कनका लागि बसपार्क पुग्नु भएकी सीता चन्दले सहजै टिकट पाउनु भएन। एक जना सांसदले टिकटका लागि गोगंबु नयाँ बसपार्क टिकट काउण्टरका कर्मचारीसंग कुराकानी गरेपछि शनिवारका लागि टिकट हुने आश्वसन पाउनु भयो ।
काउण्टरका कर्मचारीले नै सिट मिलाइदिने भनेर बोलाएपछि चन्द बसपार्क पुग्नु भएको थियो तर टिकट भने पाउन सक्नु भएन ।
टिकट नपाएको चन्दको गुनासो सुनेपछि हिमालय टेलिभिजनले उहाँलाई फलो गर्दै काण्टरसम्म पुग्यो । काउण्टरका कर्मचारीले सुरुमा अहिलेको अहिले टिकट पाउँछ त भन्ने जवाफ दिए ।
त्यसपछि टेलिभिजनको क्यामेराले दृश्य कैद गरेको चाल पाएपछि भने अर्को काउण्टरमा पठाइदिए र अर्को काण्टरका कर्मचारीले ढिलो नगरी टिकट उपलब्ध गराए । चन्दलाई बी एक नम्बरको टिकट प्राप्त भयो । टिकट नपाए बसपार्कबाटै फर्किने सोच बनाएकी चन्दले खुसी हुँदै टिकट लिनु भयो । चन्द मात्रै नभएर दशैंमा काठमाडौंबाट फर्किन चाहानेले अनेक खाले सास्ती र पीडा भोग्न बाध्य भए ।
ती मध्येकी एक हुन् अर्घाखाँची सन्धीखर्ककी मञ्जु आचार्य । टिकट बुकिङ खुलेको दोस्रो दिन असोज २ गते नै टिकट काट्न बसपार्क पुग्नु भएकी आचार्यले अपांगता भएका एक परिवारका सदस्यका लागि भने अर्घाखाँची जाने टिकट पाउनु भएन् । अन्तिममा पाँच जना काठमाडौंबाट अर्घाखाँची फर्कनुपर्ने भएपनि तीन जना सन्धीखर्कका लागि टिकट लिनु भयो भने अपाङ्गता भएका भान्जा सहित अर्का एक जना बुटवल हुँदै अर्घाखाँची फर्कने निधोमा पुग्नु भयो ।
चन्द, आचार्य जस्तै गृहजिल्ला फर्कन चाहाने डोटीकी कोमल बलायरले पनि सास्ती पाउनु पर्यो । असोज २ गते नै अग्रिम टिकट बुकिङ गर्दा शनिवार बिहान ११ बजे बस छुट्ने बताइएको थियो र सोही अनुसार उहाँ १० बजे नै नयाँ वसपार्क पुग्नुभयो । उहाँलाई गाडी बिग्रिएको भन्दै साँझ चार बजे पछि मात्रै बस मिल्ने जानकारी दिएपछि दिनभर बसपार्कमै बस्नु पर्यो ।
यी केही प्रतिनिधि पात्र हुन्, जस्ले दशैं मान्न घर फर्कदा टिकटका लागि कति पाउनु सम्म सास्ती पाए । हजारौं यात्रुले कुनै न कुनै प्रकारको सास्ती खेप्दै घर फर्किएका छन् । कसैले चाहेको सिट पाएनन् भने कोही कोचिएर बसको गल्लीमै भएपनि यात्रा गर्न बाध्य भए ।
कसैले तोकिएको भन्दा बढि मूल्य तिरेरै भएपनि दशैं मान्न घर फर्किए । जसो जसो दशैं मान्न घर फर्किएपनि दशैं लगत्तै काठमाडौं फर्किनुप्नुपर्ने निश्चित छ । घर जाँदा चुस्त व्यवस्थापन गर्न नसकेका जिम्मेवार निकायले फर्किदा भने केही सुधार गर्ने को कि ?
प्रतिक्रिया