कञ्चनपुरको ब्रह्मदेवमा भारतीय पक्षद्वारा नेपाली पक्षलाई व्यापारका लागि छाप्रो राख्न अवरोध (भिडियो रिपोर्टसहित)

२०७९ असोज १५ गते १७:१३
कञ्चनपुरको ब्रह्मदेवमा  भारतीय पक्षद्वारा नेपाली पक्षलाई व्यापारका लागि छाप्रो राख्न अवरोध (भिडियो रिपोर्टसहित)

१५ असोज २०७९ कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ९ स्थित भारतसँग जोडिएको ब्रह्मदेवमा भारतीय पक्षले देखाउने दादागिरी नौलो होइन ।

कहिले नेपाली नागरिकलाई घर निर्माणमा अवरोध त कहिले वृक्षारोपण, सडक निर्माण अनि कहिले व्यापारमा भारतीय पक्षले बारम्बार ब्रह्मदेवमा आफ्नो रबैया देखाइरहन्छ । यो पटक पुनः नेपाली पक्षलाई व्यापारका लागि छाप्रो राख्न अवरोध भएको छ ।

अहिले भारतको प्रसिद्ध तीर्थस्थल पूर्णागिरिमा लागेको नवरात्र मेलाले ब्रह्मदेवमा चहलपहल बढेको छ । मेलाका अवसरमा व्यापार व्यवसाय फस्टाउने भन्दै नेपाली नागरिकले बजार नजिकै व्यापार गर्न खोजे । तर, भारतीय सीमा सुरक्षा बल एसएसबीले आफ्नो भूमि दावी गर्दै नेपालीलाई व्यापारका लागि छाप्रो राख्न अवरोध गर्‍यो ।

ब्रह्मदेव बजार नजिकै रहेको पिल्लर नम्बर ३ गायब भएपछि यो क्षेत्रमा विवाद हुँदै आएको छ । भारतले ब्रह्मदेव बजारसम्म आफ्नो दाबी गर्छ भने ब्रह्मदेवबासी त्यो मान्न तयार छैनन् ।

वर्षौदेखि ब्रह्मदेवमा रहेको सीमा विवादले नेपाली नागरिकले सास्ती भोग्नु परेकोले नापजाँच गरेर विवाद हटाउनु पर्ने नागरिकको माग छ । यो विषयमा भारतीय प्रशासनसँग सम्पर्क गरेको र विगतका वर्ष जसरी नेपालीलाई व्यापारका लागि सहजीकरण गर्ने भारतीय प्रशासनले प्रतिबद्धता जनाएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

यसअघि टनकपुर पुलदेखि उत्तरतर्फ ब्रह्मदेव बजारछेउको करिब एक सय मिटर सडक निर्माणमा पनि एसएसबीले अवरोध गरेको थियो । भीमदत्त नगरपालिकाले ठेक्का दिएर पनि सडक निर्माण हुन सकेको छैन ।

त्यसक्षेत्रमा भारतीय पक्ष आफैंले सडक बनाउन खोजेको थियो । स्थानीयले विरोध गरेपछि रोकिएको हो । ब्रह्मदेव बजारछेउमै ३ मुक्त हलिया परिवारका घर निर्माण पनि एसएसबीले नै रोकेको छ । झन्डै १० वर्षदेखि मुक्त हलिया परिवारले घर निर्माण गर्न सकेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *