झोलुङ्गे पुल बगेपछि नदी तर्न सास्ती

२०७९ असोज ९ गते १३:५०
झोलुङ्गे पुल बगेपछि नदी तर्न सास्ती

९ असोज २०७९ कञ्चनपुर । वनहरा नदीले शुक्लाफाँटा नगरपालिका–१२ तिलकीमा रहेको झोलुङ्गे पुल बगाएपछि स्थानीय बासिन्दालाई निकै सास्ती भएको छ ।

गत साता नदीमा आएको बाढीले पुल बगाएपछि स्थानीय बासिन्दाले जोखिम मोल्दै नदी तर्नुपर्ने बाध्यता रहेको छ ।

अत्यावश्यक सामान खरिद गर्न बाढी आएको नदी तर्नुपर्ने अवस्था रहेको स्थानीय मङ्गलप्रसाद चौधरीले बताउनुभयो । “झोलुङ्गे पुल तिलकी, शान्तिपुर र चन्दापुर बस्तीका बासिन्दाको नदी तर्ने एक मात्रै माध्यम थियो”, उहाँले भन्नुभयो, “पुल बगेपछि निकै सास्ती खेप्दै आएका छौँ ।” सामान आपूर्तिमासमेत अवरोध भएको उहाँले बताउनुभयो ।

“सामान्य बिरामी भए गाउँमा आधारभूत स्वास्थ्य केन्द्र छ”, लक्ष्मण रानाले भन्नुभयो, “प्रसूति हुने र अन्य जटिल प्रकृतिका विरामीलाई अस्पताल लैजानु पर्दा नदी तर्नुपर्ने बाध्यता छ ।” वैकल्पिक मार्गका रुपमा रहेको बेलौरी कलुवापुर सडक जोड्ने बाटोसमेत मोटरघाट नजिक नदीको बाढीको पानीले बगाइ दिएपछि अन्य क्षेत्रसँगको सम्पर्कविच्छेद भएको उहाँले बताउनुभयो ।

मोटरघाट नजिकैको सडकमा ठूलो खाल्डो परेको छ । खाल्डोमा पानी भरिएकाले बारपार गर्न नसकिने अवस्थाको छ । गाउँमा कक्षा ८ सम्मको पठनपाठन गर्ने विद्यालय भए पनि कक्षा १० र १२ मा पढ्नका लागि बालबालिकाले नदी पारीको नन्द माध्यमिक विद्यालय जाने गर्दछन् । “पुल बगेपछि बालबालिकाले विद्यालय जान पाएका छैनन् । नदीमा पानीको बहाव निकै बढी छ”, सुग्रीव रानाले भन्नुभयो, “बालबालिकाले नदी तरेर विद्यालय जान सक्दैनन्, अभिभावकले जोखिमयुक्त नदी तर्नका लागि जान दिँदैनन् ।” उहाँका अनुसार पानी पर्न थालेपछि निकै डर हुने गरेको छ ।

नदीले उत्तर र पूर्व क्षेत्रमा कटान सुरु गरेकाले गत साता जस्तै बाढी आए पूरै बस्ती डुब्ने डर भएको उहाँले बताउनुभयो । “नदीले घेरिएका तिलकी, शान्तिपुर र चन्दापुरलाई जोगाउनका लागि बलियो तटबन्धको आवश्यकता छ”, वडा अध्यक्ष नवल सिंह रानाले भन्नुभयो, “विकास हुँदै गर्ला पहिलो प्राथमिकता बस्तीलाई जोगाउनु छ, यसका लागि विभन्न निकायमा तटबन्ध निर्माणका लागि आग्रह गरेका छौँ ।”

असोज १ गते बिहान आएको बाढीले वनहरा नदीको झोलुङ्गे पुल बगाएको हो । तीन सय मिटर लम्बाइको पुल दुई वर्ष अघि झण्डै रु तीन करोडको लागतमा निर्माण भएको थियो । त्यसअघि स्थानीय बासिन्दाले हिउँदका बेला नदीमा बाँसको अस्थायी पुल निर्माण गरी आवतजावत गर्दै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *