बसाई सर्नेको ताँतीले रित्तिँदै प्रदेश एकका पहाड र हिमाल (भिडियो रिपोर्टसहित)

२०७९ असोज ७ गते १७:५९
बसाई सर्नेको ताँतीले रित्तिँदै प्रदेश एकका पहाड र हिमाल (भिडियो रिपोर्टसहित)

७ असोज २०७९ धनकुटा । गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी, उद्योग व्यवसाय, सुरक्षा, सामाजिक सम्बन्ध र समानता खोज्दै तराई झर्ने क्रम तीब्र बनेको छ । तराईतिर बसाईं सराई बढ्दै जाँदा पहाडी गाउँहरु शून्य बन्दै गएका छन् ।

पछिल्लो दश वर्षको जिल्लागत जनसङ्ख्याको वितरण र वृद्धिदर हेर्दा एक नम्बर प्रदेशका संखुवासभाबाहेक सबै हिमाली र पहाडी जिल्लाको जनसंख्या वृद्धिदर नकारात्मक छ ।

प्रदेश एकका पहाडी जिल्लाबाट झापा, मोरङ र सुनसरीसँगै काठमाडौंमा बसाईं सराई गर्ने क्रम अत्यधिक छ । सङ्घीयता कार्यान्वयनमा आएसँगै बसाईं सराई घट्ने अपेक्षा गरिए पनि यही समयमा सबैभन्दा धेरै बसाईं सराई भएको छ ।

२०७८ सालको जनगणना अनुसार प्रदेश एकमा सबैभन्दा बढी जनसंख्या वृद्धिदर नकारात्मक भएको जिल्ला खोटाङ हो । खोटाङमा जनसंख्या वृद्धि माइनस १.५६ प्रतिशत छ ।

त्यस्तै भोजपुरको माइनस १.३२, तेह्रथुमका माइनस १.२६ रहेको छ । अन्य जिल्लामा भने माइनस १ प्रतिशत भन्दा कम छ । तराईका जिल्लामा भने जनसंख्या बढेको छ ।

सुनसरीमा सबै भन्दा बढी १.९४, झापामा १.९२, मोरङमा १.६६, उदयपुर ०.७३ र संखुवासभामा ०.०२ प्रतिशत छ । स्थानीयस्तरमै स्वास्थ्य, शिक्षा, रोजगारी र अत्यावश्यक सेवा उपलब्ध हुन सके पहाडी गाउँहरु पनि भरिभराउ हुने सम्भावना छ ।

बसाईं सराईंले खाद्य सङ्कट, प्राकृतिक स्रोतको दोहन र स्रोतको प्रयोगमा अस्वस्थ्य प्रतिस्पर्धा समेत बढाएको छ । यसलाई न्यूनीकरण गर्नका लागि विकास र सेवाको समुचित उपलब्धता हुनुपर्ने विज्ञको सुझाव छ ।

जनसङ्ख्याको असमान वितरणले हिमाल र पहाड खाली हुने तथा तराइमा अव्यवस्थित बसोबासको क्रम बढेको छ । जसका कारण हिमाली र पहाडी जिल्लाको जनसङ्ख्या वृद्धिदर ऋणात्मक छ भने उब्जनीको भण्डार तराई कंक्रिटमा परिणत हुँदैछ ।

स्वरोजगार र उत्पादनलाई बढाउने तथा गाउँ तहसम्म अत्यावश्यक विकासका पूर्वाधारहरू पुर्‍याउन सके मात्रै पनि तीब्र भइरहेको बसाईंसराई दर घट्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *