राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरेपछि मधेशमा विरोध प्रदर्शन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असोज ५ गते २०:३२
राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरेपछि मधेशमा विरोध प्रदर्शन (भिडियो रिपोर्टसहित)

५ असोज २०७९ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान उल्लंघन गरेको भन्दै मधेश प्रदेशमा प्रदर्शन भएको छ । मंगलबार रातिसम्म समयसीमा भएपनि राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरेपछि मधेश केन्द्रित दलका कार्यकर्ताले प्रदर्शन गरेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी गैरसंवैधानिक कदम चालेको भन्दै मधेश प्रदेशमा विरोध प्रदर्शन भएको छ । सत्तारुढ दल जनता समाजवादी पार्टी जसपा पर्साले वीरगञ्जमा राष्ट्रपतिको पुत्ला दहन गरेको छ । यस्तै, प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले पनि जनकपुरधामको पिडारी चौकमा प्रदर्शन र राष्ट्रपतिको पुत्ला दहन गरेको थियो ।

संविधानको रक्षक राष्ट्रपतिले नै संविधान नमाने पछि मधेशी जनताले संविधान मान्न बाध्य नहुने मधेश केन्द्रित दलले तर्क गरेका छन् ।

संविधानको धारा ६१ को (४) मा ‘संविधानको पालना र संरक्षण राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ’ भनी स्पष्ट रूपमा उल्लेख रहे पनि राष्ट्रपति भण्डारीले संविधानको धारा ११३ को (४) बमोजिमको बाध्यात्मक कार्य नगरी संविधान उल्लङ्घन गरेको भन्दै तमलोपाले राष्ट्रपतिको राजीनामा समेत मागेको छ ।

विभिन्न बहानाबाजी गरी राष्ट्रपतिले विधेयक प्रमाणीकरण नहुनुले मधेसी मात्र होइन सम्पूर्ण नागरिकताविहीन नागरिकलाई अनागरिक बनाउने षड्यन्त्र भएको मधेश केन्द्रित दलले निष्कर्ष निकालेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *