नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णयबारे कसले के भने ?

५ असोज २०७९ काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर अहिलेको राजनीतिक प्रणाली नै खतरामा पार्ने काम भएको बताउनु भएको छ ।
सामाजिक सामाजिक सञ्जालमार्फत उहाँले संवैधानिक अधिकार प्रयोग गर्नुको साटो राष्ट्रपतिले विद्यमान राजनीतिक प्रणालीलाई नै खतरामा पार्ने काम भएको उल्लेख गर्नुभएको छ ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु संविधानको ठाडो उल्लंघन भएको प्रतिक्रिया जनाउनु भएको छ ।
सामाजिक सञ्जालमार्फत उहाँले प्रतिनिधि सभा र राष्ट्र सभाबाट दुईदुई पटक पारित भएर राष्ट्रपति समक्ष प्रस्तुत गर्दा पनि प्रमाणीकरण नहुनु संविधानको उल्लंघन र संसदीय लोकतान्त्रिक प्रणालीको मर्ममाथि प्रहार भएको उल्लेख गर्नुभएको हो ।
यता नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले इतिहासमा ढिलो प्राप्त लोकतन्त्रको डुंगालाई सबैले मौका मिल्नासाथ प्वाल पार्नु चिन्ताजनक रहेको टिप्पणी गर्नु भएको छ । राष्ट्रपतिले संसदबाट २र २ चोटी पारित विधेयक प्रमाणीकरण गर्न आलटाल गर्नु गम्भीर भएको उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेर राष्ट्रहितमा काम गरेको दाबी गर्नु भएको छ ।
सामाजिक सञ्जालमा थापाले वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा संविधानअनुकूल संशोधन नगरिएको नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णय स्वभाविक भएको उल्लेख गर्नु भएको हो ।
प्रतिक्रिया