राजनीति

कस्तो रह्यो धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालको सय दिन ? (भिडियो रिपोर्टसहित)

२०७९ असोज ४ गते १६:४१
कस्तो रह्यो धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालको सय दिन ? (भिडियो रिपोर्टसहित)

४ असोज २०७९ काठमाडौं । धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल निर्वाचित भएयता सधैँ चर्चामा हुनुहुन्छ । २०७४ सालको चुनावदेखि चर्चामा रहेका हमाल यो पटकको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित हुनुभएको हो। तर, प्रमुख भएयताको सय दिनमा उहाँको आलोचना भइरहेको छ ।

२०७४ को निर्वाचनमा नृप वडसँग पराजित गोपाल हमाल यो पटक विजयी हुनुभयो । स्वतन्त्र उम्मेद्वार बनेर चुनावमा होमिएका हमाल अहिले धनगढी उपमहानगरको नेतृत्वमा हुनुहुन्छ । तर, उहाँको कार्यशैली विवादित र आलोचित हुन थालेका छन् ।

अपरिपक्व निर्णयका कारण हरेक काम सुरु गर्दै छोड्दै गर्ने स्वभावले सय दिनमा उपमहानगरको योजना स्पष्ट हुन सकेको छैन । चुनावी घोषणापत्रकै अक्षरशः पालना नभएको गुनासो मतदाताको छ ।

नदीनाला अतिक्रमणका कारण हरेक वर्ष डुबानमा पर्दै गएको भएपनि यसको दीर्घकालीन समाधानका लागि उपमहानगरले चासो देखाएको छैन । नदीनाला अतिक्रमण हटाउन प्रयास गरे पनि विवाद भएपछि त्यो काम बिचमै छोडियो ।

फोहोरमैला व्यवस्थापनमा उपमहानगरको ध्यान जान नसक्दा नगर क्षेत्र कुरुप र दुर्गन्धित बन्दै गएको छ । उपमहानगरले नदीनाला अतिक्रमण र फोहरमैला व्यवस्थापनका लागि दीर्घकालीन योजना बनाउन नसक्दा सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानीसमेत रहेको धनगढी नगर क्षेत्र दयनीय बन्दै गएको छ ।

तर, उपमहानगरले भने सय दिनमा उत्कृष्ट काम गरेको दावी गर्दै आएको छ । सबै वडामा स्वास्थ्य क्लिनिक सुरु गरेको उपमहानगरले जनाएको छ । सुकुटी नाला अतिक्रमण गरेर बनाइएका संरचनामा डोजर चलाएको उपमहानगरपालिकाले अन्य अतिक्रमित क्षेत्रको समेत पहिचान गरेर हटाएको भन्दै प्रमुख हमालले बताउने गर्नुभएको छ ।

हमालले दुई वटै वडामा कृषि क्षेत्र नै नभएको उल्लेख गरी जग्गाको कित्ताकाट फुकुवा गरेको विषय अझै पनि आलोचित छ । वडा नम्बर ४ हमालको बसोबास रहेको वडा र सहरी क्षेत्र मानिएको वडा नम्बर १ को मात्र कित्ताकाट फुकुवा गर्ने निर्णयलाई अस्वाभाविक रुपमा लिइएको छ । यि र यस्तै कारणले हमालको नजरमा सुखद भएपनि मतदाताको नजरमा भने उपमहानगरको सय दिन विवादित र आलोचित बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्