तमोर करिडोरले सुगम बन्न थाले नदी किनारका वस्ती (भिडियो रिपोर्टसहित)

२०७९ असोज ३ गते १६:०४
तमोर करिडोरले सुगम बन्न थाले नदी किनारका वस्ती (भिडियो रिपोर्टसहित)

३ असोज २०७९ धनकुटा । डेढ दशक अघिसम्म भौगोलिक रूपले दुर्गम मानिएको तमोर नदी किनारका वस्तीलाई तमोर करिडोरले जोडेपछि सुगम बन्न थालेका छन् । नागरिकको आउजाउ सहज भएको छ भने उपभोग्य सामग्रीको मूल्य पनि सस्तो हुन थालेको छ ।

केही वर्ष अघिसम्म तमोर नदी आसपासका बासिन्दालाई यातायातको सुविधा लिन निक्कै मुस्किल थियो । यातायात चढ्नैपर्ने अवस्था आए घण्टौ लगाएर मेची तथा कोशी राजमार्ग पुग्नु पर्थ्यो । दैनिक उपभोग्य लगायतका सामग्री बोकेरै पुर्‍याउनुपर्ने बाध्यता थियो । तर, अहिले अवस्था फेरिएको छ ।

तराईबाट पूर्वी पहाड हुँदै चीनसम्म जोड्ने छोटो मार्गको रूपमा रहेको तमोर करिडोरमा यातायातका साधन सञ्चालनमा आउन थालेपछि नागरिक उत्साहित भएका छन् । तमोर करिडोर सडकको ट्रयाक निर्माण भएपछि पूर्वी पहाडी जिल्ला धनकुटा, तेह्रथुम, पाँचथर र ताप्लेजुङका नदी किनारवासीलाई बल्ल सहज भएको छ ।

धनकुटादेखि ताप्लेजुङसम्म सिधा सडकले जोड्ने योजनाका साथ २०६५ सालमा सांसद विकास कोषको रकमबाट तमोर करिडोरको काम सुरु भएको थियो । त्यसपछि तमोर करिडोर राष्ट्रिय गौरवको आयोजनामा समावेश भयो ।

धनकुटाको मुलघाटदेखि तमोर नदीको किनारै किनार करिव १ सय ८० किलोमिटरको दुरीमा चीन तर्फको सीमावर्ती नाका ओलाङचुङगोला पर्छ । यो भारत र चीन जोड्ने सबै भन्दा मुख्य मार्ग बन्ने निश्चित छ ।

तमोर कोरिडोरमा ड्रेन सहितको ग्राभेल सडक बनाइएको छ । कालोपत्रे गर्न टेण्डरको आह्वान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *