एसिया कप क्रिकेटः श्रीलंकाले अफगानिस्तानलाई हरायो, आज भारत र पाकिस्तान भिड्दै

हिमालय टिभी
२०७९ भदौ १९ गते ९:०३
एसिया कप क्रिकेटः श्रीलंकाले अफगानिस्तानलाई हरायो, आज भारत र पाकिस्तान भिड्दै

१९ भदौ २०७९ काठमाडौं । श्रीलंकाले एसिया कप ट्वेन्टी–ट्वेन्टी क्रिकेटको सुपर फोरमा अफगानिस्तानलाई हराएको छ ।

सुपर फोर अन्तर्गत गएराति सम्पन्न पहिलो खेलमा श्रीलंकाले अफगानिस्तानमाथि ४ विकेटको जित निकालेको हो । १७६ रनको लक्ष्य श्रीलंकाले खेल सकिन ५ बल अगावै ६ विकेट गुमाएर पूरा गरेको थियो ।

श्रीलंकाको जितमा कुशल मेण्डिसले ३६, पाथुम निशंकाले ३५, धनुष्का गुनाथिलाकाले ३३ तथा भानुका राजपाक्षेले ३१ रन बनाए । अफगानिस्तानका मुजिब उर रहमान र नविन उल हकले समान २(२ विकेट लिए ।

यसअघि शारजाह क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गर्दै अफगानिस्तानले निर्धारित ओभरमा रहमनुल्लाह गुरबाजको अर्धशतकीय इनिंग्ससँगै ६ विकेटको नोक्सानीमा १७५ रन बनाएको थियो ।

गुरबाजले ४५ बलमा ६ छक्का र ४ चौकाको मद्दतले ८४ रन बनाएका थिए । उनी म्यान अफ द म्याच भए । त्यस्तै इब्राहिम जाडरन ४० रनमा आउट भए । बलिङमा श्रीलंकाका दिलशान मधुशंकाले २ विकेट लिए ।

लिग चरणको खेलमा अफगानिस्तानले श्रीलंकालाई ८ विकेटले पराजित गरेको थियो । सुपर फोरको दोस्रो खेलमा आज चिरप्रतिद्न्दी भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *