देशकै ठूलो कागज कारखाना खण्डहरमा परिणत (भिडियो रिपोर्टसहित)

२०७९ भदौ १८ गते १६:५२
देशकै ठूलो कागज कारखाना खण्डहरमा परिणत (भिडियो रिपोर्टसहित)

१८ भदौ २०७९ नवलपरासी । पूर्वी नवलपरासीको गैंडाकोटमा रहेको देशकै ठूलो भृकुटी कागज कारखाना बन्द भएको १२ वर्ष भयो । कुनै समय देशको कुल मागको झण्डै ६० प्रतिशत कागज पूरा गर्ने यो धरोहर यतिबेला खण्डहरमा परिणत भएको छ ।

२०३७ सालदेखि सञ्चालनमा रहेको भृकुटी कागज कारखाना २०४८ सालमा निजीकरण गरियो । तत्कालीन सरकारले गोल्छा अर्गनाइजेसनलाई ३० करोड ९८ लाखमा कारखाना विक्री गर्‍यो । तर, गोल्छाले यसलाई चलाउन नसकेपछि २०६७ सालमा कारखाना बन्द हुन पुग्यो ।

बन्द भएको १२ वर्षमा यो कारखाना खण्डहरमा परिणत भएको छ भने करोडौंका सामान नष्ट भएका छन् । कारखाना बन्द हुँदा सयौंको रोजीरोटी मात्र गुमेको छैन, करोडौं रकम विदेशिएको छ ।

बन्द भएयता हालसम्म २ सय २८ श्रमिकले कारखानामा काम गर्दाको श्रमको मूल्य पाएका छैनन् । पीडित तीन जनाको मृत्यु भइसकेको छ भने एक जनाले त आत्महत्या नै गरिसकेका छन् । तर, रकम भुक्तानी भएको छैन ।

कारखाना अहिले झाडीले भरिएको छ । कारखानाका सबै संरचना जीर्ण छन् । लाखौं मूल्य पर्ने मेसिन खिया लागेर बिग्रिएका छन् । देशमा उद्योग र कलकारखाना सञ्चालन हुँदा रोजगारी मिल्ने अपेक्षासहित न्यून मूल्यमा जग्गा उपलब्ध गराएका गैँडाकोटबासी अहिले कारखाना खण्डहरमा परिणत हुँदा दुःखी छन् ।

नेपाली बजारको ६० प्रतिशत कागजको माग पूरा गर्ने भृकुटी कागज कारखाना बन्द भएपछि कागजमा भारतीय परनिर्भरता रोकिएको छैन । न त श्रमिकले श्रमको मूल्य पाए न त राज्यले नै यो कारखानालाई पुनः सञ्चालनमा ल्याउने योजना बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *