‘गुँदेताल’संरक्षण अभावले लोप हुने अवस्थामा

२०७९ भदौ १५ गते १४:१५
‘गुँदेताल’संरक्षण अभावले लोप हुने अवस्थामा

१५ भदौ २०७९ लेखनाथ । सात तालको बाटिका सहर लेखनाथ, लेखनाथ सात तालले परिचित छ । यहाँका ताल संरक्षणमा पछिल्ला वर्ष सरकारी निकायबाट कुनै चासो दिइएको छैन । पोखरा–२६ लेखनाथमा रहेको गुँदेताल संरक्षणको अभावमै छ ।

एक वर्षअघि स्थानीयवासी ताल संरक्षणमा जुटे पनि रकम अभावकै कारण पूर्णरूपमा संरक्षण हुनसकेको छैन । सरकारको तर्फबाट संरक्षणमा काम अगाडि बढाइएको छैन । कास्कीमा रहेका नौवटा तालमध्ये खास्टे, न्यूरेनी र गँुदेताल पोखरा–२६ मा पर्छन् ।

गुँदे वातावरण संरक्षण तथा मत्स्य सहकारीका अध्यक्ष ठाकुरप्रसाद ढुङ्गानाले सरकारी तहबाट चासो नदिँदा ताल संरक्षण हुन नसकेको गुनासो गर्नुभयो । अग्रज पुर्खाले बस्नका लागि गुन्द्री बुन्न प्रयोगमा आउने गुँद पाइने भएकाले परापूर्वकालदेखि नै उक्त तालको नाम गुँदे रहँदै आएको स्थानीय सुमन भट्टराईले जानकारी दिनुभयो ।

तालवरपर घाँसेमैदान भएकाले यसलाई चराहरूको बासस्थानका रूपमा विकास गराउन उपयुक्त छ । तर पोखरा महानगरले चराको बासस्थानका रूपमा विकास गर्न कुनै चासो देखाउँदैन । अब सरकारको मुख ताक्नुभन्दा स्थानीयवासी नै ताल संरक्षणमा जुट्न थालेका स्थानीय बताउँछन् ।

गुँदेताल वातावरण तथा मत्स्य सहकारी र गुँदेताल संरक्षण समिति तालको संरक्षणमा जुटेका छन् । ताल संरक्षणअन्तर्गत पहिलो चरणमा तालले ओगटेको जग्गाको सीमाङ्कन गर्ने काम भएको छ । साथै वरपर फुटट्रयाक निर्माण गर्ने कार्य सकिएको छ भने तालमा माछाका भुरा छाड्ने कार्य पनि केही वर्षदेखि सुरु गरिएको छ ।

विश्व सम्पदामा रामसार सूचीमा सूचीकृत गुँदेतालको संरक्षण र विकासमा स्थानीय नै जुटेपछि वन कार्यालय र हरियो वन कार्यक्रमले समेत केही मात्रामा सहयोग प्रदान गर्न सुरु गरेको गुँदेताल संरक्षण समितिका अध्यक्ष ढुङ्गानाले बताउनुभयो ।

वातावरणीय प्रभाव र मानवीय अतिक्रमणका कारण सागुरिँदै गएको यो तालको क्षेत्रफल १२.३८ हेक्टर रहे पनि जलक्षेत्र भने न्यून मात्रामा रहेको छ । जसको गहिराइ औसतमा दुई मिटर र सीमसारको भाग धेरै रहेकाले यो तालमा प्रशस्त कमल देख्न पाइन्छ ।

हेमन्त ऋतु अर्थात् जाडो मौसममा हिमाली भेगका चराचुरिङ्गी जाडो छल्न र गर्मीमा तराई क्षेत्रका चरा गर्मी छल्न गुँदेतालमा आउने गरेकै गुँदेताललाई बर्डवाचिङ सेन्टर अर्थात् चरा हेर्ने ठाउँका रूपमा विकास गर्न सकिने जानकारी स्थानीय गणेश अधिकारीले दिनुभयो ।

संरक्षण र आयआर्जनका रूपमा तालको विकास गर्ने उद्देश्यले केही वर्षदेखि स्थानीय सरोकारवाला सङ्गठितरूपमा ताल संरक्षणमा जुटेका र त्यो सदस्य सङ्ख्या एक सय ४५ पुगेका छन् । समितिमा रहेका सदस्य ताल संरक्षणका साथै माछा भुरा र चराको हेरचाहमा सक्रिय रहने छन्, ताल संरक्षणका नाममा पछिल्लो समय तालको जलाधार क्षेत्रभित्रै माटोले पुरेर ट्रयाक खोल्ने कामले यो ताल पनि मानवीय अतिक्रमणको चपेटामा परेको देखिन्छ । यसका लागि स्थानीय मौन बस्ने र सरकारी निकायबाट बेलैमा ध्यान नदिने हो भने तालको अस्थित्व नै लोप हुने र पछिका पुस्ताले यहाँ ताल थियो रे भन्ने इतिहास सुन्न नपरोस् ।

पछिल्लो सयम यहाँको रुपाताल र फेवातालमा बजेट विनियोजन गरिए पनि अन्य तालहरू संरक्षणको पर्खाइमा छन् । पोखरा नगर क्षेत्रमा मात्र फेवा, वेगनास, रुपा, कमल, गुँदे, न्यूरेनी, खास्टे, दिपाङ, मैदी गरी नौ वटा ताल छन् भने सहरी क्षेत्र बाहिर दुई सिक्लेसमा कफूचे र माछापुच्छ«े गाउँपालिकामा पिपर ताल छन् । तत्कालीन लेखनाथ नगरपालिकाले विसं २०५४ मा सात तालको बाटिका सहरका रूपमा विकास गर्ने योजना ल्याइएको भए पनि संरक्षणका लागि कार्य अगाडि नबढाएको स्थानीय सूर्यप्रसाद बरालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.