गुल्मीको रेसुंगा बहुमुखी क्याम्पसले गर्‍यो आर्थिक सङ्कटकाल घोषणा (भिडियो रिपोर्टसहित)

२०७९ भदौ १५ गते १४:०९
गुल्मीको रेसुंगा बहुमुखी क्याम्पसले गर्‍यो आर्थिक सङ्कटकाल घोषणा (भिडियो रिपोर्टसहित)

१५ भदौ २०७९ गुल्मी । गुल्मीको रेसुंगा बहुमुखी क्याम्पसले आर्थिक संकटकाल घोषणा गरेको छ । आर्थिक दायित्व बढ्दै जाने तर आम्दानीको स्रोत खुम्चिँदै गएपछि सञ्चालक समितिले क्याम्पसमा आर्थिक संकटकाल घोषणा गरेको हो ।

गुल्मीको रेसुंगा बहुमुखी क्याम्पस । स्थापना भएको ४० वर्षदेखि यो क्याम्पसले धेरैलाई सत्मार्ग देखायो । यहीँ पढेका कति मन्त्री त कति नेता भए । धेरैलाई ज्ञानको ज्योति दिएको यो क्याम्पस अहिले आफै निभ्न लागेको दियो जस्तो भएको छ ।

क्याम्पसमाथि ऋणको भार थपिँदै गएपछि आर्थिक संकटकाल घोषणा गरिएको हो । सञ्चालक समितिले विभिन्न उपाय खोजिरहेको छ । यसले हाल अध्ययन गरिरहेका विद्यार्थीलाई पनि चिन्ताले सताएको छ ।

विभिन्न कोषमा रहेको रकम र वार्षिक रूपमा थपिने ऋणबाहेक क्याम्पसलाइ अहिले ५ करोड ८३ लाख रुपैयाँ ऋण छ । प्रध्यापक र कर्मचारीको उपचार, उपदान, संचित बिदाको रकमसमेत करिब ७ करोडजति क्याम्पसको दायित्वमा पर्छ ।

क्याम्पसले गत पुसदेखि प्राध्यापक र कर्मचारीलाई पारिश्रमिकबापतको १ करोड ५८ लाख रुपैयाँभन्दा धेरै रकम भुक्तानी गर्न सकेको छैन । २४ जना पूर्णकालीन प्राध्यापक, १० जना पूर्णकालीन कर्मचारी र ७ जना आंशिक प्राध्यापक छन् ।

अहिले विद्यार्थी शुल्कबाट मासिक करिब साढे ७ लाख आम्दानी हुने क्याम्पसको मासिक खर्च २४ लाखको हाराहारीमा छ । त्यसैले पनि आर्थिक संकटकाल लगाउनुपरेको प्रशासनको प्रष्टीकरण छ ।

सामुदायिक क्याम्पसको यो दुर्दशा र निर्णयप्रति अहिले आलोचना सुरु भएको छ । अनावश्यक शुल्क बढाउने, विद्यार्थी आकर्षित गर्न कुनै पहल नगरेको भन्दै सञ्चालक समितिको राजीनामा मागिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *