पहिरोबाट विस्थापित भएकालाई खाँदबारी नगरपालिकामा जग्गा हस्तान्तरण (भिडियो रिपोर्टसहित)

२०७९ भदौ १४ गते १८:२९
पहिरोबाट विस्थापित भएकालाई खाँदबारी नगरपालिकामा जग्गा हस्तान्तरण (भिडियो रिपोर्टसहित)

१४ भदौ २०७९ संखुवासाभा । दुई वर्षअघि संखुवासभाको सिलिचोङ गाउँपालिका वडा नम्बर १, सिसुवाखोलामा गएको पहिरोले विस्थापित बनाएकालाई जग्गा हस्तान्तरण गरिएको छ ।

२०७७ असार २७ गते राति गएको पहिरोबाट विस्थापित ५५ परिवारले खाँदबारी नगरपालिका– वडा नम्बर ७ मा निःशुल्क जग्गा पाएका हुन् ।

२०७७ साल असार २७ गतेको पहिरोबाट विस्थापित ९२ परिवार मध्ये ५५ परिवारलाई खाँदबारी नगरपालिका– वडा नम्बर ७ मा जग्गा व्यवस्थापन गरिएको छ । बाँकी ३७ परिवारलाई गाउँपालिका वडा नम्बर १, कै चित्रे र बखल्टुम भन्ने स्थानमा पुनर्स्थापना गरिएको छ ।

गाउँ नै बग्ने गरी गएको पहिरोको कारण विस्थापित भएकालाई पुनर्वास हुन चाहेको ठाउँ रोज्न लगाइएको थियो । जसमध्ये ५५ जनाले खाँदबारी रोजेका थिए । पहिरोबाट विस्थापितको संयुक्त नाममा जग्गाको लालपुर्जा बनाइएको छ ।

जग्गाको लालपूर्जा संयुक्त नाममा भए पनि घर निर्माणको लागि कित्ता काट गरी प्रत्येक परिवारलाई वितरण गरिएको हो । घर निर्माणको लागि १३ हजार ५ सय ६३ दशमलव ६९ वर्गमिटर छुट्याइएको छ भने बाँकी रहेको खेत र जङ्गल पछि बाँडफाँट गरिने छ ।

पहिरो गएकै स्थानमा दुई वर्षसम्म जोखिम मोलेर बस्दै आएका पहिरो पीडित जग्गा पाएपछि खुसी छन् । पहिरोले सिंगो गाउँ नै बगाएपछि बेसिन्दा र चेप्चेवाका बासिन्दा विस्थापित भएका थिए । पहिरोमा परी ११ जना अझै बेपत्ता छन् ।

चित्रेमा ५१ रोपनी जग्गा ७० लाख र बखल्टुममा १७ रोपनी जग्गा ३४ लाखमा खरिद गरी पहिरो विस्थापितको नाममा संयुक्त रजिस्ट्रेसन पास गरिएको थियो ।

जिल्ला विपद् व्यवस्थापन समितिले गत फागुन २९ गते जग्गा खरिद गर्ने निर्णय गरेपछि प्रक्रिया अघि बढेको थियो । संघीय सरकारले ६०, प्रदेशले ३० र सिलिचोङ गाउँपालिकाले १० प्रतिशत लगानी गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *