ताल्चा विमानस्थल: टर्मिनल टावर १९ वर्षदेखि काठको टहरामै (भिडियो रिपोर्टसहित)

२०७९ भदौ १४ गते १८:१६
ताल्चा विमानस्थल: टर्मिनल टावर १९ वर्षदेखि काठको टहरामै (भिडियो रिपोर्टसहित)

१४ भदौ २०७९ मुगु । मुगुको एक मात्र विमानस्थल ताल्चामा रहेको टर्मिनल टावर १९ वर्षदेखि काठको टहरामै सीमित छ । २०६० सालदेखि कच्ची धावनमार्गमार्फत काठको टहराबाटै जहाज उडान र अवतरण शुरु गरिएको भए पनि अझै सुविधायुक्त ‘टर्मिनल भवन’ बन्न सकेको छैन ।

२०६० साल वैशाख ३ गते पहिलो पटक रारा विमानस्थल ताल्चमा परीक्षण उडान गरियो । विमानस्थलमा सहज रूपमा जहाजले अवतरण गरेपछि सबै जनाले स्वागत गरे र त्यस यता हवाइ जहाज चल्न थाल्यो ।

१९ वर्षदेखि निरन्तर उडान र अवतरण भइरहेपनि सामान्य हावा लाग्दासमेत काठको भवन हल्लिने गर्छ । जोखिम मोलेर कर्मचारीहरू टहरामै बसेर काम गर्न विवश छन् । यात्रु कक्ष पनि नहुँदा सुरक्षा चुनौती र यात्रामा सकस भइरहन्छ ।

सुविधायुक्त टर्मिनल टावर निर्माण जारी छ । तर, ठेकेदारको ढिलासुस्तीका कारण काम सम्पन्न हुन अझै समय लाग्ने अवस्था छ । २०७२ सालमा ५ सय ७० मिटर लम्बाई र २० मिटर चौडाइको धावनमार्ग कालोपत्र गरेपनि मुख्य र संवेदनशील टावर टर्मिनल भवन नबन्दा समस्या छ ।

टर्मिनल टावर निर्माणका लागि नागरिक उड्डयन प्राधिकरणले २ बर्ष अघि ९ करोड रुपैयाँ विनियोजन गरी ओमबुद्ध इन्टरनेसनल कन्स्ट्रक्सनसित ठेक्का सम्झौता गरेको थियो । साढे दुई वर्ष बित्दासमेत मुस्किलले ५० प्रतिशत काम मात्र पूरा भएको छ ।

भौगोलिक विकटताका कारण समयमा सामान ढुवानी नहुनु र कोरोनाका कारण निर्माणमा अवरोध उत्पन्न हुँदा काम रोकियो । अहिले एक वर्ष म्याद पुनः थपिएको छ । तर, यो म्यादमा पनि निर्माण सकिने सम्भावना कम छ ।

विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा पनि सुरक्षाको कुनै प्रबन्ध छैन । विमानस्थल वरपर दुईवटा घेराबार हुनुपर्ने भएपनि एउटा सामान्य तारलेसम्म बारिएको छैन ।

विमानस्थलको चारैतिर मानिस, पशु, गाई, गोरु, कुकुर, स्याल हिँड्ने बाटो मात्र देखिन्छन् । तत्काल घेरबार गर्न सम्बिन्धत निकायको ध्यान नपुगे कुनै दिन दुर्घटना निम्तिन सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *