धेरै प्राविधिक शिक्षा पढाउने अनुमति दिँदा केही बन्द हुने अवस्थामा (भिडियो रिपोर्टसहित)

२०७९ भदौ १४ गते १७:२०
धेरै प्राविधिक शिक्षा पढाउने अनुमति दिँदा केही बन्द हुने अवस्थामा (भिडियो रिपोर्टसहित)

१४ भदौ २०७९ दाङ । दाङमा प्राविधिक शिक्षा पढाउने लहर चलेको छ । स्थानीय तह मातहतका सामुदायिक विद्यालयले प्राविधिक विषयलाई जोड दिएर अध्यापन गराउँदैछन् । तर, प्राविधिक विषय पढाउने अनुमति एउटै स्थानीय तहका धेरै सामुदायिक विद्यालयलाई दिँदा केही विद्यालय बन्द हुने अवस्थामा छन् ।

दाङमा जब प्राविधिक विषयमा पढाइ हुन थाल्यो तब तुलसीपुर उपमहानगरपालिकामा यो विषय लिएर पढ्ने विद्यार्थीको संख्या बढ्दै गयो । अन्य जिल्लाबाट समेत विद्यार्थी प्राविधिक विषय अध्ययन गर्न आइपुग्थे । तर, अहिले सबै विद्यालयमा प्राविधिक विषय पढाइ हुन थालेपछि विद्यार्थी नहुँदा केही विद्यालय बन्द गर्नुपर्ने अवस्थामा पुगेका छन् ।

उपमहानगरपालिकाको वडा नम्बर १८ मा रहेको जनता संस्कृत माध्यामिक विद्यालयले तीन वर्ष अघि कृषिमा प्राविधिक शिक्षा सुरु गर्यो । उपमहानगरको १० लाखको सहयोगमा सुरु भएको यो अहिले बन्द हुने अवस्थामा पुगेको छ । अन्य विद्यालयले पनि यही विषयमा पढाइ सुरु गरेपछि यो विद्यालयमा विद्यार्थी नै छैनन् ।

सोही वडामा रहेको जनकल्याण माविको अवस्था पनि जनता संस्कृत माविको भन्दा फरक छैन । जनकल्याणले सिभिल इन्जिनियर अध्यापन गराउँदै आएको थियो । तर, सोही विषयमा शहीद स्मृतिले पनि अध्यापन गराउन थालेपछि जनकल्याण पनि मारमा परेको छ । आफूले पढाउँदै आएको विषयलाई उपमहानगरले अन्य विद्यालयमा दिएको प्रधानाध्यापकको गुनासो छ ।

तर, अरु विद्यालय भने यो कुरा मान्न तयार छैनन् । सर्वसुलभ र गुणस्तरीय शिक्षा दिँदा विद्यार्थी आएको उनीहरूको तर्क छ ।

केही विद्यालयले स्थानीय तहका कारण समस्या निम्तिएको गुनासो गरेपनि उपमहानगरपालिकाले भने कुनै विद्यालयमा पढाइ भइरहेको विषयलाई अर्को विद्यालयको लागि सिफारिस नदिएको दाबी गर्छ । आफूले नभई सिटिइभिटीले अध्यापन अनुमति दिने गरेको उपमहानगरको शिक्षा शाखाको प्रष्टीकरण छ ।

हाल तुलसीपुरका ९ वटा सामुदायिक विद्यालयमा प्राविधिक पढाइ हुन्छ । एउटै विषयको पढाइ अन्य विद्यालयमा हुँदा जनता र जनकल्याण जस्ता विद्यालयलाई शिक्षकको तलब कसरी दिने भन्ने चिन्ताले सताइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *