सरकारी कार्यालयको टसल– मालपोतले जग्गा पास गर्‍यो, नापीले मान्यता दिएन (भिडियो रिपोर्टसहित)

२०७९ भदौ १३ गते १६:१६
सरकारी कार्यालयको टसल– मालपोतले जग्गा पास गर्‍यो, नापीले मान्यता दिएन (भिडियो रिपोर्टसहित)

१३ भदौ २०७९ पाँचथर । पाँचथर मालापोत कार्यालयले घुम्ती शिविरमार्फत हिलिहाङ र कुम्मायक गाउँपालिकाका नागरिकको जग्गा पास गरायो । तर, नापी कार्यालयले कित्ताकाटलाई मान्यता दिएन । यसले सेवाग्राही समस्यामा परेका छन् ।

एकवर्ष अगाडि घुम्ती शिविरमार्फत नागरिकले जग्गा पास लगायतका काम गरे । तर, कित्ताकाट भने गरिएन । जिल्ला मालपोत कार्यालय र नापी कार्यालयबीच समन्वय नहुँदाको प्रभाव नागरिकले दैनिक भोगिरहेका छन् ।

जग्गा पास भएर लालपूर्जा हातमा भए पनि किनिएको जग्गाको नक्सा भने छुट्टिएको छैन । नापी कार्यालयको सफ्टवेयरमा जग्गा धनीको नक्सा नै भेटिँदैन ।

मालपोत कार्यालयले जग्गा पास गरिसकेकाले कित्ताकाट गर्न भनेर नापीलाई पत्रचार गरेको थियो । तर, नापी कार्यालयले नियम विपरीत भएको भन्दै ७० थान कित्ताको लिखत फिर्ता गरिदिएपछि समस्या झन् बढ्दै गएको छ ।

गाउँपालिकाको बजेटमा भएको घुम्ती शिविरमा आपसी समन्वय नहुँदा तत्कालीन समयमा सुविधा भनिएको कामले अहिले सास्ती व्यहोर्नु परिरहेको छ । जग्गा पास गरेर नक्सा बनाउन अनुरोध गर्दा नापीले कित्ताकाट नगरिदिँदा सेवाग्राहीले समस्या भोगिरहेको मालपोत कार्यालयले जनाएको छ ।

संघीयताको अभ्याससँगै मालपोत र नापीको काम स्थानीय तहबाट हुने भए पनि कार्यान्वयनमा आएको छैन । यसले पनि समस्या समाधान हुन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *