बुटवलमा बन्यो काठमाडौं बाहिरकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (भिडियो रिपोर्टसहित)

२०७९ भदौ ११ गते २१:२१
बुटवलमा बन्यो काठमाडौं बाहिरकै सबैभन्दा ठूलो  अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (भिडियो रिपोर्टसहित)

११ भदौ २०७९ बुटवल । अन्तर्राष्ट्रियस्तरका सभा, सम्मेलन, गोष्ठी र बैठक गर्न मिल्ने गरी बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण भएको छ । १ अर्ब ११ करोड लागतमा निर्माण गरिएको यो सभाहल मोफसलकै सबैभन्दा ठूलो रहेको दाबी गरिएको छ ।

बुटवलको प्रचण्ड गर्मीमा पनि कुनै राजनीतिक दलको सभा–सम्मेलन गर्नुपर्दा खुला आकाशमुनि गर्नुपर्ने बाध्यता थियो । अब त्यो बाध्यता अन्त्य भएको छ । संघीय सरकारको सहरी विकास मन्त्रालयमार्फत १ अर्ब ११ करोड रुपैयाँ लागतमा निर्माण गरिएको केन्द्रमा सभाहलसहित करिब २ हजार जना अट्ने १३ वटा हल छन् ।

एक हजार जना अट्ने बालकोनीसहितको मुख्य सभाहललाई गौतमबुद्ध नाम दिइएको छ । हलमा आकर्षक कुर्सी र साउन्ड सिस्टम जडान गरिएको छ । आसपासमा थप १२ वटा हल छन् । सभाहलको उद्घाटन गरेका प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मेलन केन्द्रले रुपन्देहीको आर्थिक, ब्यापारिक र शैक्षिक क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने दाबी गर्नुभएको छ ।

देवदह, तिलौराकोट, बागेश्वरी, रानीमहललगायत लुम्बिनी प्रदेशका पर्यटकीय क्षेत्रको नामबाट हलको नामकरण गरिएको छ । तीनमा थप १ हजार ७ सय जना बसेर कार्यक्रम गर्न सक्छन् । सम्मेलन केन्द्रमा रहेका २ वटा भवनलाई माथिबाट हेर्दा राष्ट्रिय झण्डाको चन्द्रसूर्य आकारमा देखिन्छ । चन्द्र आकारमुनि २ वटा ठूला र सूर्य आकारको भवनमा ११ वटा हल छन् ।

५ वर्षमा निर्माण सक्ने गरी २०७१ साल माघ १५ मा बुटवल सम्मेलन केन्द्र निर्माणको काम सुरु भएको थियो । ५ वर्षमा सक्ने भनिए पनि सम्मेलन केन्द्रको १ अर्ब ३ करोड रुपैयाँमा दुई चरणमा बाँडेर ठेक्का सम्झौता गरिएको थियो । निर्माण सक्दा आठ करोड रकम बढ्न पुगेको छ ।

सहरी विकास तथा भवन निर्माण विभागले निर्माण थालेको सम्मेलन केन्द्रको रविना समानान्तर चन्द्रसूर्य जेभी निर्माण कम्पनीले पहिलो चरणको ठेक्का लिएको थियो । यद्यपि आयोजनाले भूकम्प, रुख कटान र कोरोना महामारीलाई कारण देखाउँदै म्याद थपेको थियो ।

सम्मेलन केन्द्रबाहिर आकर्षक पानीका फोहोरासहितका पोखरी छन् । ती सबैमा चन्द्रसूर्य आकारका फोहोरा निस्कन्छन् । रातिमा राष्ट्रिय झण्डासहितको धुन बज्छन् । त्यही आकारमा बिजुली जडान गरिएको छ ।

शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्र उद्घाटन गरे पनि अहिलेसम्म सञ्चालनको मोडालिटीबारे स्पष्ट खाका तयार भएको छैन । बुटवल उपमहानगरपालिकाले सञ्चालनको इच्छा देखाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *