केन्य पुगेको नेपाली क्रिकेट टोलीले आज पहिलो अन्तर्राष्ट्रिय ट्वेन्टी–ट्वेन्टी खेल खेल्दै

हिमालय टिभी
२०७९ भदौ ९ गते ८:००
केन्य पुगेको नेपाली क्रिकेट टोलीले आज पहिलो अन्तर्राष्ट्रिय ट्वेन्टी–ट्वेन्टी खेल खेल्दै

९ भदौ २०७९ काठमाडौं । केन्या भ्रमणमा रहेको नेपालले आज घरेलु टोलीसँग पहिलो अन्तर्राष्ट्रिय ट्वेन्टी–ट्वेन्टी खेल खेल्दैछ ।

नेपाल र केन्याबीच पहिलो पटक ट्वेन्टी–ट्वेन्टी अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेल हुन लागेको हो । ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा नेपाल र केन्या झण्डै एक दशकपछि पहिलो पटक खेल्न लागेका हुन् ।

नेपालले अफ्रिकन राष्ट्र केन्या भ्रमण गरेको पनि यो पहिलो पटक हो । पाँच खेलको ट्वेन्टी–ट्वेन्टी शृंखलाका लागि केन्या पुगेको नेपाल विजयी शुरुवात गर्ने लक्ष्यका साथ मैदान ओर्लने छ ।

कप्तान सन्दीप लामिछानेले प्रि–म्याच कन्फरेन्समा टीमको लक्ष्य सबै खेल जित्ने रहेको बताएका थिए । केन्याका कप्तान शेम एनगोचेले नेपाललाई हराएर वरीयता सुधार गर्ने योजनामा रहेको बताए ।

यो खेल राष्ट्रिय टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरको पनि पहिलो हुनेछ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजे शुरू हुनेछ ।

पाँच खेलको शृंखला अन्तर्गत दोस्रो खेल भोलि, तेस्रो भदौ १२ गते, चौथो भदौ १३ गते र पाँचौ तथा अन्तिम खेल भदौ १४ गते हुनेछ । ट्वेन्टी–ट्वेन्टी शृंखला लगत्तै तीन खेलको एक दिवसीय शृंखला हुनेछ । पहिलो एक दिवसीय खेल भदौ १७ गते, दोस्रो भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुने तालिका छ ।

नेपाल र केन्या सन् २०१३ पछि पहिलो पटक ट्वेन्टी–ट्वेन्टी फर्म्याटमा भिड्दै छन् । एक दिवसीयमा दुबै देशबीच सन् २०१८ मा प्रतिस्पर्धा भएको थियो ।

सन् २०१३ मा युएईमा भएको ट्वेन्टी–ट्वेन्टी विश्वकप क्वालिफायरमा नेपालले केन्यालाई ६ विकेटले पराजित गरेको थियो । त्यस्तै २०१२ मा ट्वेन्टी–ट्वेन्टी विश्वकप क्वालिफायरमा पनि नेपालले केन्यालाई ५ विकेटले हराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *