महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै

८ भदौ २०७९ काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दैछ ।
भदौ २९ गतेभित्र महाअभियोगबारे अध्ययन टुंग्याउने प्रस्ताव गरेको सिफारिस समितिको तेस्रो बैठक आज बस्न लागेको हो । यसअघि हिजोको बैठकले जबरालाई यसै साता सफाइ पेश गर्न मौका दिने गरी कार्यतालिका तयार पारेको छ ।
जसअनुसार जबराले समिति समक्ष यसै साता जवाफ पेश गर्नुपर्ने छ । समितिले भदौ २९ गतेभित्र जबरामाथि लागेको महाभियोगका बारेमा अध्ययन प्रतिवेदन बुझाउने कार्यतालिका हिजोको बैठकमा प्रस्तुत भएको थियो ।
उता प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने प्रस्तावित कार्यतालिका समय छोट्याएर २५ भदौभित्रै अध्ययन सम्पन्न गरेर प्रतिनिधिसभामा प्रतिवेदन पठाउनुपर्ने अडान राखेको छ ।
२०७८ साल फागुन १ गते प्रतिनिधिसभामा दर्ता भएको जबराविरुद्धको महाभियोगमाथि अध्ययन गर्न फागुन २१ गते सिफारिस समिति गठन गरेको थियो ।
समितिलाई यसबारे अध्ययन गर्न जिम्मेवारी भने साउन २२ गते दिइएको थियो । बैठक दिउँसो २ बजे बस्ने छ ।
प्रतिक्रिया