मानसरोवर जाने तीर्थालुको केन्द्र बन्दै नेपालगञ्ज (भिडियो रिपोर्टसहित)

२०७९ भदौ ७ गते २१:०६
मानसरोवर जाने तीर्थालुको केन्द्र बन्दै नेपालगञ्ज (भिडियो रिपोर्टसहित)

७ भदौ २०७९ नेपालगञ्ज । कैलाश मानसरोवर पुग्न चाहने तीर्थालुका लागि पछिल्लो समय नेपालगञ्ज केन्द्र बन्न थालेको छ । मानसरोवर पुग्न भारतबाटै बाटो भए पनि नेपालबाट बढी सुरक्षित हुने भएकाले नेपालगञ्जबाट यात्रा गर्नेको संख्या बढिरहेको हो ।

यसले नेपालगञ्जमा पर्यटकको उपस्थिति मात्रै बढाएको छैन पर्यटन र होटल व्यवसायीको आम्दानी पनि बढाएको छ ।

चीनमा पर्ने कैलाश मानसरोवर हिन्दू, बौद्ध तथा जैन धर्मावलम्बीका लागि पवित्र तीर्थस्थल हो । भारतबाटै जान सकिने भए पनि भारतीयका लागि नेपाल सुरक्षित मार्ग भएको छ । भारतको दिल्ली र लखनऊ हुँदै नेपालगञ्ज पुग्ने ६ लेनको सडक बनेकाले पनि यही मार्ग प्रयोग गर्न भारतीय रूचाउँछन् ।

वैशाखदेखि असोजसम्म मानसरोवर पुग्न सकिने भएकाले अहिले नेपालगञ्ज भारतीय पर्यटक स्वागत गर्न ब्यस्त छ । अहिले ६० जना भारतीय पर्यटकको टोली मानसरोवरका लागि नेपालगञ्ज आइपुगेका छन् । यहाँबाट हुम्लाको सिमिकोट हुँदै मानसरोवर जान सकिन्छ ।

सिमिकोटबाट लिमि लाप्चा भञ्ज्याङसम्म ट्रेकिङ गर्दै जाने गरिन्छ । हिल्सा र केरुङबाट सडक मार्ग हुँदै १० दिन लगाएर दर्शन गर्दै आएका भारतीय पर्यटक नेपालबाटै मानसरोवरको दर्शन गर्न पाउँदा उत्साहित छन ।

सिमिकोटबाट लिली लाप्चा भञ्ज्याङ एक सय ५ किलोमिटर दूरीमा पर्ने हुँदा कतिपयले हेलिकोप्टरबाटै पनि भञ्ज्याङसम्मको यात्रा तय गर्दै आएका छन् । हेलिकोप्टरबाट भञ्ज्याङको सौन्दर्य र रमणीय दृष्यावलोकन गर्ने पर्यटकका कारण हेलि पर्यटन व्यवसायी पनि खुसी छन् ।

भारतीय पर्यटकको चाप बढ्न थालेपछि नेपालगञ्जका प्रायः सबै ठूला र मध्यम होटल भरिभराउ छन् । नेपालगञ्ज आइपुग्ने भारतीय पर्यटकले तारे होटल खोज्ने गरेपछि नेपालगञ्जमा धमाधम तारे होटलहरु थपिँदै छन् ।

कोरोना महामारी अघि नेपालगञ्जबाट सिमिकोटको हिल्सा हुँदै मानसरोवर पुग्ने भारतीय पर्यटकको संख्या १२ हजारभन्दा बढी थियो । दुई वर्षयता महामारीका कारण कमी आएपनि पुनः यो बढ्ने क्रममा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *