भोजपुरको हतुवागढी : विद्युत छ, पोल नहुँदा दु:ख (भिडियो रिपोर्टसहित)

२०७९ भदौ ६ गते २१:०६
भोजपुरको हतुवागढी : विद्युत छ, पोल नहुँदा दु:ख (भिडियो रिपोर्टसहित)

६ भदौ २०७९ भोजपुर । २०६४ सालदेखि भोजपुरको हतुवागढी गाउँपालिकामा नाङ्खुवा जलविद्युत आयोजना सञ्चालनमा छ ।

गाउँको वडा नम्बर ९ का मजुवाटारवासी १५ वर्षदेखि निरन्तर बिजुली उपभोग गरेर सिंचाइ पनि गर्दै आएका छन् । खयर बेचेर बनाएको लघु जलविद्युतले खुसी दिएपनि आयोजनाका काठे पोल जीर्ण बन्दै जाँदा भने उनीहरू खिन्न भएका छन् ।

भोजपुरको हतुवागढी गाउँपालिकाको मजुवाटारमा रहेको नाङ्खुवा खोला लघु जलविद्युत आयोजनाबाट १ सय २० घरधुरीले लाभ लिएका छन् । राष्ट्रिय प्रसारण लाइनबाट प्राप्त विद्युत अनियमित भइरहेका बेला स्थानीयले आफ्नै अग्रसरतामा सञ्चालन गरिरहेको लघु विद्युत आयोजनाले गाउँ झलमल्ल पारेको छ ।

१५ वर्षअघि स्थानीयले सामुदायिक वनमा भएको खयर बेचेर बिजुली बालेका कारण पनि उनीहरूका लागि यो आयोजना निकै प्यारो छ । आयोजना सञ्चालनमा आएपछि जल ऊर्जाको पहुँच विस्तार भएसँगै जीविकोपार्जनमा सहजता आएको छ । १२ किलोवाट क्षमतामा उत्पादन गरिएको जलविद्युतले धेरै नागरिकलाई आधारभूत आवश्यकता प्राप्त गर्न सहज भएको छ ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा सञ्चालनमा आएको लघु जलविद्युत आयोजना उदाहरण बनेको छ । तर, राष्ट्रिय प्रसारण लाइनको विद्युत महशुल २० युनिटसम्म निशुल्क भइरहेका बेला लघु जलविद्युत आयोजनाका उपभोक्ता भने मासिक १ सय २० रुपैयाँ शुल्क तिर्न बाध्य छन् ।

त्यसैले राष्ट्रिय प्रसारण लाइन र लघुवित्त आयोजना दुबै उपभोग गर्ने स्थानीयको योजना छ । विद्युतको माग बढ्दै जाँदा आपूर्ति गर्न समस्या हुने भएकाले पनि आयोजनासँगै राष्ट्रिय प्रसारण लाइन प्रयोगमा स्थानीयले जोड दिएका छन् ।

लामो समयदेखि सञ्चालन भइरहेकाले आयोजनाका धेरै पोल कच्ची छन् । राष्ट्रिय प्रसारण लाइनले धमाधम फलामका पोल फेरिरहेको अवस्थामा यो आयोजना भने बाँसका पोल र मक्किएका काठका पोलको भरमा सञ्चालनमा छ । गाउँपालिकाले ४० वटा पोल फेरेपनि एकसयभन्दा बढी पोल जीर्ण छन् । जुनसुकै बेला पनि विद्युत आपूर्तिमा अवरोध आउने भएकाले पोल परिवर्तन गर्नुपर्नेमा स्थानीयको जोड छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *