४ वर्षमा पनि सञ्चालनमा आएन प्रसुती गृह, मर्कामा महिला (भिडियो रिपोर्टसहित)

२०७९ भदौ ४ गते २०:५२
४ वर्षमा पनि सञ्चालनमा आएन प्रसुती गृह, मर्कामा महिला (भिडियो रिपोर्टसहित)

४ भदौ २०७९ रौतहट । रौतहटको गुजरा नगरपालिका वडा नम्बर २ को कटाँनी टोलमा रहेको रंगपुर स्वास्थ्य चौकीमा निर्माण गरिएको प्रसुती गृह ४ वर्षसम्म पनि सञ्चालनमा आउन सकेको छैन । घर पायक बनेको प्रसुती गृह सञ्चालनमा नआउँदा महिलाहरू मर्कामा पर्ने गरेका छन् ।

रौतहटको गुजरा नगरपालिकामा प्रसुती गृह निर्माण भएपनि सञ्चालनमा आउन सकेको छैन । जिल्ला जनस्वास्थ्य कार्यालयमा सूचिकृत हुननसक्दा सञ्चालनमा आउन सकेको छैन ।

प्रसुती गृह निर्माण भएको ४ वर्ष भइसक्यो तर, कम्पाउण्ड वाल, स्वास्थ्यकर्मी बस्ने आवास समेत नहुँदा सूचिकृत हुन नसकेको स्वास्थ्य चौकीको भनाइ छ । प्रसुती सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरुले चौबिसै घण्टा सेवा प्रदान गरिरहनु पर्नेभएकाले थप संरचना र सुविधा आवश्यक पर्छ ।

बेलायत सरकारको सहयोगमा नेपाल सरकारले ३३ लाख ७७ हजार ६ सय १६ रुपैयाँ, गुजरा नगपालिकाको तर्फबाट ५ लाख ४ हजार २ सय रुपैयाँ र स्थानीयबाट उठाइएको २ लाख १४ हजार ८६४ रकम जम्मा गरी ४० लाख ९६ हजार ६८० को लागतमा प्रसुती गृह निर्माण गरिएको हो ।

एकतले तीनकोठे प्रसुती गृह २०७४ साल चैतमा निर्माण सुरु भइ २०७५ असोजमा सम्पन्न भएको थियो । निमार्ण सम्पन्न भएको ४ वर्ष पुग्न लागिसक्दा पनि प्रसुती गृह संचालन नहुँदा सुत्केरी गराउन जोखिम मोलेर चन्द्रपुर, वीरगंज, भरतपुर जानुपर्ने वाध्यता छ ।

राम्रो प्रसुती गृह नहुँदा घरमै असुरक्षित सुत्केरी गराउँन बाध्य स्थानीयले राहत हुने विश्वास लिएका थिए । तर, प्रसुती गृह सञ्चालनमा नआउँदा उनीहरु निराश छन् ।

गुजरा नगरपालिकाले भने आफुहरुले संघीय सरकारसँग प्रसुती गृह सञ्चालनका लागि बजेट माग गरेको बताउँदै आएको छ ।

प्रसुती गृह सञ्चालनमा नआउँदा सबैभन्दा बढि मार विपन्न समुदायका महिलालाई परेको छ । टाढाको अस्पतालमा जान एम्बुलेन्स खर्च, औषधि उपचारका लागि ऋण खोज्नुपर्ने उनीहरुको बाध्यता छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *