डुडुवा नहरको काम चार वर्षदेखि रोकिँदा तनावमा किसान (भिडियो रिपोर्टसहित)

२०७९ भदौ ३ गते १८:१२
डुडुवा नहरको काम चार वर्षदेखि रोकिँदा तनावमा किसान (भिडियो रिपोर्टसहित)

३ भदौ २०७९ काठमाडौं । सिक्टा सिंचाई आयोजनाअन्तर्गत डुडुवा नहर निर्माणको काम ४ वर्षदेखि ठप्प भएको छ । नहर निर्माण अलपत्र हुँदा किसान समस्यामा परेका छन । आकाशे पानीको भरमा धान रोपाइ गरेका किसानहरुको धान खेत मै सुक्न थालेको छ ।

बाँके जिल्लाको डुडुवा, नेपालगञ्ज, जानकी र खजुरा क्षेत्रको करिब १६ हजार हेक्टरमा सिंचाई सुविधा पुराउने लक्ष्यका साथ २०७३ जेठमा डुडुवा शाखा नहरको निर्माण सुरु गरिएको थियो ।

सिक्टाको मूल नहरबाट १८ हजार लिटर प्रति–सेकेन्ड पानी डुडुवा शाखा नहरमा छाडेर सिंचाईको सुविधा पुर्‍याउने लक्ष्य राखिएको थियो । तर, आयोजनाविरूद्ध मुद्दा परेपछि चार वर्षदेखि नहर निर्माणको काम अलपत्र हुँदा खेतमा धाँजा फाट्न थालेको छ ।

झण्डै १ अर्ब रूपैयाँको लागतमा साढे २३ किलोमिटर लम्बाइ रहेको डुडुवा नहर निर्माण गर्ने ठेक्का कोस्टाल पप्पु कन्स्ट्रक्सनले पाएको थियो । निर्माणको ठेक्का पाएको कोष्टल पप्पुजेभीले ठेक्काको समयावधि करिब ३० महिना सकिँदा ७ प्रतिशत मात्रै काम गरेको छ । काममा ढिलाइ गरेको जनाउँदै आयोजनाले २०७५ मंसिरमा ठेक्का तोडेर कालो सूचिमा राख्न सिफारिस गर्‍यो । त्यसपछि ठेकेदार कम्पनीले आयोजना सिफारिस विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ ।

मुद्दाको किनारा नलाग्दासम्म मूल नहर निर्माणको काम अगाडि बढाउन सक्ने अवस्था छैन । ठेकेदार कम्पनीले दायर गरेको मुद्दा कहिले किनारा लाग्छ त्यो पनि टुंगो छैन ।

२०२० सालमा तात्कालीन राजा महेन्द्रले शिल्यान्यास गरेको डुडुवा नहरबाट बाँकेका जनताले सिंचाई सुबिधा पाउन अझै कति वर्ष पर्खनु पर्ने हो, टुंगो छैन । नहर निर्माणको मुद्दा अदालती प्रकृयामा अल्झिरहने र खेतीका लागि पानी नपाएर छटपटाइरहने स्थितिको छिट्टै अन्त्य गर्न किसानको माग छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *