सुर्खेतमा हिरासतमा रहेका व्यक्तिको मृत्यु भएपछि आफन्त आन्दोलित (भिडियो रिपोर्टसहित)

३ भदौ २०७९ सुर्खेत । सुर्खेतमा वनसम्बन्धी मुद्दामा हिरासतमा रहेका व्यक्तिको मृत्यु भएपछि उनका आफन्त आन्दोलित बनेका छन्।
वीरेन्द्रनगर वन डिभिजन कार्यालयमार्फत बिहीबार पक्राउ परेका वीरेन्द्रनगर–१३ भूतचोकका ५८ वर्षीय धनीराम लामिछानेको वन कार्यालय पुर्याउने बित्तिकै मृत्यु भएको हो।
मदन भण्डारी राजमार्गमा पर्ने जंगलमा नम्बरिङ गरिएको रूख काटेको आरोपमा पक्राउ परेका लामिछानेलाई कुटपिट गरेर मारेको लामिछानेका आफन्तको आरोप छ । आक्रोशित आफन्तले घटनाबारे सत्यतथ्य छानबिन नभएसम्म शव नबुझ्ने बताएका छन्।
यता वन कार्यालयले भने लामिछाने हिरासत कक्षमा झुन्डिएको अवस्थामा फेला परेको दाबी गरेको छ ।
आफन्तले भने पक्राउ गर्दा कुटपिटबाट मृत्यु भएपछि कर्मचारीले कोठामा झुन्ड्याएको आरोप लगाएका छन्।
यसैबीच मृतक लामिछानेका आफन्तले सहायक वन अधिकृत कृष्णराम धिताल, फरेष्टर सन्तोष खत्री, वन रक्षक पियूसराज तिवारी र सुरेन्द्र रानाविरुद्व किटानी जाहेरी दिएका छन् ।
प्रतिक्रिया