अकबरे खुर्सानी खेतीमा इलामेली किसानको यस्तो आकर्षण (भिडियो रिपोर्टसहित)
१ भदाै २०७९ इलाम । केही समयअघि सम्म ‘६ अ’ को खेती र उत्पादनका लागि अग्रणी जिल्ला इलाममा अहिले अर्को ‘अ’ थपिएको छ, त्यो हो अकबरे खुर्सानी । इलाममा अकबरे खुर्सानीमा किसानको आकर्षणसँगै उत्पादन पनि बढेको छ । जसबाट उनीहरुले राम्रो आम्दानी गरिरहेका छन् ।
इलामको सूर्योदय नगरपालिका वडा नम्बर ६ का दीर्घ राईले यही वर्षदेखि अकबरे खोर्सानीको व्यावसायिक खेती शुरु गर्नु भएको छ । दुई रोपनी क्षेत्रफलमा लगाएको खोर्सानी फल्न थालिसकेको छ ।
अहिले खोर्सानी किन्न व्यापारीहरू राईको बारीसम्मै पुग्न थालेका छन्। व्यापारीहरु नै बारीमा खोर्सानी खरिदका लागि पुग्न थालेपछि राई यतिबेला उत्साहित मात्र बन्नु भएको छैन आगामी वर्ष अकबरे खोर्सानीको खेती विस्तार गर्ने सोचमा पुग्नु भएको छ । इलामका होमनाथ गजुरेलले ६ वर्षअघिदेखि व्यावसायिक उत्पादन बढाउँदै लैजानुभएको छ । उहाँलाई पनि बजारको कुनै चिन्ता छैन ।
एउटै अक्षर ‘अ’अर्थोडस चिया,अलैंची, अम्रिसो, अदुवा, ओलन र आलुबाट इलाम जिल्ला परिचित त छँदै थियो त्यसमा अहिले अकबरे पनि थपिएको छ ।
कृषि ज्ञानकेन्द्र इलामका अनुसार १० स्थानीय तहमध्ये ८ स्थानीय तहका ३ सय परिवार एकल तथा सामूहिक रुपमा व्यावसायिक अकबरे खोसार्नी खेतीमा संलग्न छन् । राम्रो आम्दानी हुने र कीरा तथा रोग कम लाग्ने भएका कारण प्रत्येक वर्ष अकबरेको व्यावसायिक खेती बढेको छ ।
थोरै लगानी, धेरै आम्दानी र सहज बजारका कारण पनि किसान बढी उत्साहित बनेका हुन । अकबरे खुसार्नी अति पीरो र सुगन्धका कारण पनि धेरै नै रुचाइन्छ । विदेशमा समेत निर्यात हुने नगदे बाली भएकाले यसको खेती विस्तारसँगै पकेट क्षेत्र घोषणा गरेर उत्पादनका लागि प्रोत्साहन गर्नुपर्ने किसानको आवाज छ ।
प्रतिक्रिया