बेनीमा एक महिना लामो ‘बर्खेनाच’ को रौनक

२०७९ साउन ३० गते ६:३३
बेनीमा एक महिना लामो ‘बर्खेनाच’ को रौनक

३० साउन २०७९ गलेश्वर । म्याग्दीको सदरमुकाम बेनीमा साढे दुई सय वर्ष पुरानो एक महिना लामो ‘बर्खेनाच’को रौनक छाएको छ ।

नेवार समुदायको परम्परागत सांस्कृतिक पहिचानका रुपमा रहेको बर्खेनाच घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालीका तिजको दिनसम्म विभिन्न नाच देखाएर मनाउँदै आइएकामा जनै पूर्णिमाको दिनदेखि लाखे, गाइजात्रा र नागानागिनी नाच देखाइएको छ । नेपाल भाषा मंकाःखलः को मूल संयोजनमा घण्टाकर्ण चर्तुदर्शीको दिनदेखि देखाउन सुरुआत भएको बर्खेनाचअन्तर्गत आइतबार बेनीमा लाखे नाच, नागानागिनी, सापारु नाच प्रदर्शन गरिएको छ । नाचअन्तर्गत मृढृङ्गा र मादलको तालमा लाखे, घोडा, नागनागीनी, रोपाइँ र जोगी नाच देखाउने गरिन्छ ।

यहाँ पुस्तौँदेखि गठे मङ्गल, लाखे नाच, घोडा नाच, जोगी नाच, गोरु नाच, रोपाइँ नाच, भोटे नाच, शिकारी नाच, नागानागिनी, सापारु र हनुमान नाचलगायतका परम्परागत संस्कृतिले बजारमा रौनकता ल्याउने गरेको नेवार समुदायका अगुवा युवा विनय श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार बर्खाको रोपाइँ सकिएपछि घण्टाकर्णदेखि सुरु हुने नाचहरु हेर्न वरपरबाट मानिस बजार झरी बजार व्यवसाय वृद्धि हुने, प्रतिभाको प्रस्फुटनमा सहयोगी बन्ने मात्रै होइन यस्ता नाचले ऐेतिहासिक र धार्मिक महत्वलाई पनि उजागर गर्ने गर्दछन् ।

बेनीमा अहिले पुरानो शिकारी नाच लोप भइसकेको छ । भोटे नाच पनि लोप हुने अवस्थामा छ । मेला महोत्सवमा झाँकीको रुपमा मात्र देख्न पाइने र आजकल औपचारिकरुपमा प्रदर्शन नभएको हनुमान नाच विगत सात वर्षयता देखाउन सकिएको छैन । यसअघि सञ्चालन भएको हनुमान नाचले म्याग्दी सामुदायिक पुस्तकालय र माई भगवती मन्दिरको लागि आर्थिक सङ्कलन गरी भवन र मन्दिर स्थापना गरेको थियोे ।

परापूर्वकालमा समाजमा दुःख दिएको र विकृति फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति बियोगमा गरेको चरित्रलाई मुकुण्डो लगाएर स्वरुप परिवर्तन गरेका कलाकारले बर्खेनाचमा अभिनयसहित नृत्य देखाउने गर्छन् । यस वर्ष आगामी भदौ १४ गते हरितालिका तिजको दिनसम्म बेनीको सांस्कृतिक पहिनाचको रुपमा रहेको बर्खेनाचअन्तर्गत विभिन्न नाच देखाउन थालिएको नेपाल भाषा मंका ः खल अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

बेनीमा बसोबास भएदेखिनै बर्खेनाच देखाउने परम्परागत चलन रहेको पाइन्छ । बर्खेनाचअन्तर्गत तिजको दिनमा दानवीय स्वरुपको लाखेलाई भगवान् श्रीकृष्णले बध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देशसहित यो नाच समापन गरिने उहाँले बताउनुभयो । दिनभर बेनीबजारका विभिन्न क्षेत्रमा लाखेनाच प्रदर्शनपश्चात् साँझ गणेश मन्दिर परिसरमा ‘तरबार लडाइँ नृत्य’मा श्रीकृष्णको रुप धारण गरेका कलाकारले लाखेको मुकुण्डोलाई बध गरेपछि बर्खेनाच समापन गर्ने चलन रहेको छ ।

ऐतिहासिक महत्व बोकेको बर्खेनाचमा पछिल्लो समय बेनीका युवाले सक्रियतापूर्वक सहभागिता जनाउने गरेका छन् । केही समय अगाडिी बर्खेनाचको लागि नयाँ कलाकारलाई तालिमसमेत दिइएको थियो । भिन्नभिन्न सांस्कृतिक महत्व बोकेको नाचमध्ये सापारुलाई विशेष महत्वको रुपमा लिइन्छ । विशेष गरी ऋषि तर्पणी (रक्षा बन्धन) र गाईजात्रा गरी दुई दिन लगाएर एक वर्षभित्र स्वर्गारोहण भएका मृतकको सम्झनामा टया मचा (अग्लो मान्छे) बनाएर बजार परिक्रमा गरिन्छ । यसो गर्दा मृतकको स्वर्गमा बास हुन्छ भन्ने लोक विश्वास रहिआएको छ ।

नेवार समुदाय मात्र होइन सम्पूर्ण बजारवासीसहित आफन्तजन उपस्थित भएर नागानागिनी नाचसहित नेवारी गीत गाएर पहिलो दिन श्री लक्ष्मी नारायण मन्दिरबाट निकाली बजार परिक्रमा गरी भोलिपल्ट मृतकको घरमा भित्र्याउने परम्परा रहेको छ । तीजमा श्रीकृष्णले लाखेको बध गरेपछि वर्खे नाचको विधिवत् समापन हुन्छ । श्रीकृष्ण भगवान् र लाखेको लडाइँ हेर्न ठूलो भीड जम्मा हुने गर्छ ।

अध्यक्ष श्रेष्ठले भन्नुभयो, “अग्रजले धानेको परम्परा मंकाः खलः को संस्थागत विकासपछि व्यवस्थित गर्ने प्रयास गरिएको छ । बर्खेनाच नेवार समुदायको मात्र नभई म्याग्दीकै सम्पत्ति हो । यसबाट सबै जातजाति संलग्न हुने र प्रतिभा उजागर गर्ने अवसर जुटेको छ ।” उहाँले भन्नुभयो, “लोप हुन लागेको नारु पुनर्जीवित गर्ने प्रयासमा छौँ । यसको लागि स्थानीय तह सरकार, युवा पुस्ता र सबै बजारवासीको सहयोगको खाँचो छ ।”

खलःले विगतमा भक्तपुरबाट मुल नेवारी गुरु ल्याएर सामूहिक बेल विवाह र व्रतबन्ध सम्पन्न गरेको थियोे । त्यस्तै नेवारी भाषा कक्षा, धिमे बाजा र बासुरीको प्रशिक्षण एवं अग्रज कलाकारद्वय प्रकाशकुकार श्रेष्ठ र सञ्जयकुमार श्रेष्ठको प्रशिक्षकत्मा हार्माेनियम र मृदंगा तालिम सम्पन्न गरेको थियोे ।

“पुस्ता हस्तान्तरणको महसुस गरिएको छ”, लामो समय बर्खेनाच संरक्षणमा योगदान पु¥याएका खलः सांस्कृतिक उपसमिमतिका संयोजक सञ्जयकुमार श्रेष्ठ भन्नुहुन्छ, “नाच्ने, गाउने र बजाउनेमा पुरानै पुस्तामा भर पर्नुपर्ने बाध्यतालाई कम गर्न यस वर्ष युवापुस्तालाई अघि सार्ने र अवसर दिने प्रयास गरिएको छ, जस्ले आगामी पुस्तामा पनि यी नाच संरक्षित हुँदै जीवन्त रहने विश्वास लिएका छौँ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.