उम्मेदवार छान्ने जिम्मा सभापति देउवालाई दिने कांग्रेस कार्यसम्पादन समितिको निर्णय

२८ साउन २०७९ काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवार मनोनयनको औपचारिक पत्र पठाउने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दुवै तहका प्रत्यक्ष र समानुपातिक उम्मेदवारको मनोनयनसम्बन्धी पत्र पठाउने जिम्मा सभापति देउवालाई दिएको हो ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले आसन्न निर्वाचनका लागि निर्वाचन आयोगमा पार्टी दर्ता गराउनेसहितका पाँच वटा निर्णय गरेको छ ।
निर्वाचन आयोगमा पार्टी दर्ता गराउन केन्द्रीय समितिको बैठक निर्णय चाहिने भएकाले निर्वाचनबारे निर्णय गरिएको कांग्रेसले जनाएको छ । आजको बैठकमा गठबन्धनको विषय भने प्रवेश पाएन ।
कांग्रेसमा संस्थापन पक्ष अहिलेको सत्ता गठबन्धनसँगै चुनावमा जानुपर्ने पक्षमा रहेको छ भने इतर पक्ष गठबन्धन गर्न नहुने र गर्नैपरे एक सय सिटभन्दा कम लिएर गठबन्धन गर्न नहुने पक्षमा छ ।
बैठकपछि नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा न्यायोचित टिकट वितरण गर्न संस्थापन पक्षलाई खबरदारी गर्नुभएको छ । उहाँले दलभित्रको विविधतालाई बुझेर न्यायोचित टिकट वितरण गर्न आग्रह गर्नुभयो ।
केन्द्रीय सदस्य केसीले मनपरी टिकट वितरणले गठबन्धनको लक्ष्य पूरा नहुने र निर्वाचनको परिणाममा पनि असर गर्ने बताउनुभयो ।
प्रतिक्रिया