पाउने भए रुपन्देहीका भूमिहीनले जग्गा, यसरी हुँदैछ पुर्जा वितरणको तयारी (भिडियो रिपोर्टसहित)

२०७९ साउन २५ गते १७:५४
पाउने भए रुपन्देहीका भूमिहीनले जग्गा, यसरी हुँदैछ पुर्जा वितरणको तयारी (भिडियो रिपोर्टसहित)

२५ साउन २०७९ रुपन्देही । रुपन्देहीका भूमिहीन सुकुम्बासी, दलित तथा अव्यवस्थित जग्गा भएकालाई लालपूर्जा दिने भन्दै राष्ट्रिय भूमि आयोगले अहिले जग्गा नापजाँच गरिरहेको छ ।

१६ वटा स्थानीय तह रहेको रुपन्देहीमा अहिलेसम्म १० वटा पालिकाका जग्गा नापजाँच सकेर आयोग लालपूर्जा बाँढ्ने तयारीमा छ । तर, स्थानीय भने जग्गा पाउनेमा विश्वस्त हुन सकेका छैनन् ।

संघीय निर्वाचन सम्मुखमा आइपुगेपछि शुरु भएको जग्गा नापजाँचप्रति भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरु सशंकित छन् । जग्गा नापजाँच गर्ने, नागरिकलाई आश्वासन दिने र भोट कुम्ल्याएपछि कागजपत्र कार्यालयको कुनामा थन्क्याउने प्रवृत्तिले भूमिहीनहरु दिक्क भइसकेका छन् । लालपूर्जा दिलाउन भन्दै यसअघि कयौंपटक आयोग गठन भए । तर, अहिले भइरहेको काम पनि त्यस्तै त होइन ? भन्नेमा भूमिहीनहरु सशंकित छन् ।

बुटवल उपमहानगपालिकामा मात्रै १७ हजारभन्दा बढी भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी छन् । जिल्लाभरबाट ७० हजारभन्दा बढीले भूमिहीन भएको दाबी गर्दै जग्गाको माग गरेका छन्। यसैका आधारमा भूमि आयोग रुपन्देहीले १० वटा पालिकाको लगत संकलन गरेर जग्गा नापजाँचको काम गरिरहेको छ । त्यसमध्ये देवदह नगरपालिकामा जग्गा नापजाँचको काम अन्तिम चरणमा पुगेको र लालपुर्जा वितरण गर्ने तयारी भइरहेको आयोगको दाबी छ ।

स्थानीय तहले यसअघि भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन गरेर जिल्लामा सिफारिस पठाएको थियो । आयोगले ब्लक छुट्टाएर जग्गाको नापजाँच गरिरहेको छ भने स्थानीय तहले सहजीकरण गरेका छन् ।

निर्वाचनको समयमा राजनीतिक दलहरुले सुकुम्बासी वस्तीलाई भोट बैंकको रुपमा प्रयोग गर्दै आएका छन् । लालपूर्जा दिलाइदिने भन्दै भोट माग्ने दलहरु सत्तामा पुगेपछि भने समस्या समाधानमा उदासिन देखिन्छन् । भूमिहीनलाई जग्गा दिन भन्दै आयोगहरु गठन भए पनि ती आयोग कार्यकर्ता भर्ती केन्द्र बन्दै जाँदा वास्तविक सुकुम्बासीको समस्या ज्यूँकात्यूँ रहने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *