झुलनमा झुल्दै जनकपुरधाम (भिडियो रिपोर्टसहित)

२०७९ साउन २४ गते २०:३३
झुलनमा झुल्दै जनकपुरधाम (भिडियो रिपोर्टसहित)

२४ साउन २०७९ जनकपुरधाम । जनकपुरधाममा झुलन महोत्सवको रौनक छाएको छ । साँझ परेसँगै रामजानकी, लक्ष्मण तथा राधाकृष्ण मन्दिरमा गीत गाउँदै दुलहीझैँ सजाइएको झुलामा भगवान सीताराम, राधाकृष्णको मूर्ति राखेर झुलाउन शुरु हुन्छ ।

श्रावण शुक्ल तृतीयादेखि श्रावण पूर्णिमा रक्षाबन्धनसम्म जनकपुरधाममा झुलन महोत्सव आयोजना गरिन्छ । परम्परागत रुपमा जानकी मन्दिर, राम मन्दिर, लक्ष्मण मन्दिर र राधाकृष्ण मन्दिरमा झुलन महोत्सव हुन्छ ।

मठ मन्दिर सजाइएका छन् । भजन किर्तन भैरहेको छ । महोत्सव हेर्न छिमेकी देश भारतबाट समेत श्रद्धालु आएका छन् । पौराणिककालमा मिथिलावासीको अराध्यदेव सीताराम दैनिक रुपमा झुला झुल्ने गरेको सम्झनामा यो पर्व मनाउने गरिएको हो । यो पर्व द्वापरकालदेखि नै मनाउँदै आएको जनविश्वास छ । अयोध्याको प्रमोद वन र मिथिलाको कञ्चनवनमा विशेक्ष महत्व राख्ने झुलन महोत्सव १५ दिनसम्म मनाइन्छ ।

सीताको माइतीबाट दाइजोका रुपमा प्राप्त मणि महलमा राख्ने ठाउँ नभएपछि बाहिर राख्दा पहाड नै भएको थियो भन्ने जनविश्वास छ । त्यसैको स्मृतिमा झुला उत्सवको प्रारम्भमा रंगभूमिमा मणि पर्व मनाउने परम्परा छ । झुलन पर्वको भोलिपल्ट पूर्णिमाका दिन रक्षाबन्धन हुने गर्दछ ।

जनकपुरमा करिब १ सय ३० वर्ष पहिला तत्कालीन महन्त सीताराम शरण गुप्तरामजीले झूला पर्व मनाउन शुरु गरेको जानकार बताउँछन् । जनकपुरधामका जानकी मन्दिर, राममन्दिरसहित अग्निकुण्डस्थित सुन्दर–सदन, झुलनकुञ्ज, बिहारकुण्डका युगल विनोद कुञ्ज, प्रेममाईको कुटीलगायतका स्थानमा झुलन महोत्सव धुमधामका साथ मनाइने गर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *