कैलालीका सडकमा ठेकेदारको लापरबाही (भिडियो रिपोर्टसहित)

२०७९ साउन २३ गते २०:५४
कैलालीका सडकमा ठेकेदारको लापरबाही (भिडियो रिपोर्टसहित)

२३ साउन २०७९ धनगढी । धनगढीमा एसियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालन भएको क्षेत्रीय शहरी विकास आयोजनाको १० किलोमिटर सडक निर्माणको काम प्रभावकारी नहुँदा स्थानीयलाई सास्ती भएको छ । सडक निर्माणको ठेक्का पाएको कालिका कन्ष्ट्रक्शनले बनाउँदै गरेका नालीहरु व्यवस्थित नहुँदा दुर्घटनाको जोखिम बढेको छ भने पानीको निकास नहुँदा डुबानको समस्या भएको छ ।

क्षेत्रीय शहरी विकास आयोजना, इकाई धनगढीले २४ महिनामा निर्माण सम्पन्न गरिसक्ने गरी २०७७ असारमा कालिका कन्ष्ट्रक्शनसँग १० किलोमिटरका ७ वटा सडक कालोपत्रे गर्ने ठेक्का सम्झौता गरेको थियो । आयोजना यही साउन महिनाभित्र सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म ५० प्रतिशत मात्रै निर्माण पूरा भएको छ । समयमा आयोजना सम्पन नहुँदा सडक दुर्घटनाको जोखिम दिन प्रतिदिन बढ्दै गएको छ । धनगढीको मुख्य सडक र सहायक सडकमा निर्माणाधिन नालीले दुर्घटनाको जोखिम भएको भएको छ ।

निर्माण भइरहेका सडकमा रहेका विद्युत, टेलिफोनका पोल र खानेपानीको पाइप व्यवस्थापनमा सरोकारवाला निकायको ध्यान पुगेको छैन । क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत निर्माण भइरहेको डिभोटी पिपल चौतारा सडकमा सबैभन्दा बढी जोखिम रहेको र समस्या समाधानका लागि सम्बन्धित निकायमा धाउँदासमेत कसैले वास्ता नगरेको जनप्रतिनिधि नै गुनासो गर्छन् ।

क्षेत्रीय शहरी विकास आयोजना कार्यालय धनगढीले कोरोना महामारी र स्थानीय तहको निर्वाचनलगायतका कारण आयोजना समयमै सम्पन्न गर्न नसकिएको जनाएको छ । निर्माणाधिन नालीहरुमा ढक्कन राख्ने, सडकमा पानी नजम्ने गरी खाल्डाखुल्डी पुर्ने काम भने गरिरहेको छ ।

क्षेत्रीय शहरी विकास आयोजना कार्यालयले पहिलो चरणमा १० किलोमिटर लम्बाइका ७ वटा सडक ६८ करोड ५ लाख ९८ हजारमा निर्माण गरिरहेको छ । धनगढीको ट्राफिक चौराहदेखि कैलाली पुलसम्मको एक दशमलव ३८ किलोमिटर, २ दशमलव ७ किलोमिटरको गुल्म–चर्च सडक, ७ सय मिटरको हुलाकी सडक–जाखोर ताल सडक, ३ दशमलव ६५ किलोमिटरको क्याम्पस गेट–चटकपुर सडक, ८ सय ७० मिटरको धनगढी–खुटिया–स्याउले सडक, ४ सय ३० मिटरको मालपोत सडक र एक दशमलव १५ किलोमिटरको हसनपुर सडक निर्माणाधिन छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *