उदयपुरका कोशी पीडित शिविरमा थलिँदै (भिडियो रिपोर्टसहित)

२०७९ साउन २२ गते २०:३८
उदयपुरका कोशी पीडित शिविरमा थलिँदै (भिडियो रिपोर्टसहित)

२२ साउन २०७९ सुनसरी । सप्तकोशीमा आएको बाढीबाट प्रभावितलाई उद्धार गरिएको स्थानमा व्यवस्थापन राम्रो नहुँदा पीडितहरुको पीडा झन् बढेको छ । अहिले शिविरमा रहेका बालबालिका र वृद्ध–वृद्धामा ज्वरो र रुघाखोकीको समस्या देखिएको छ ।

उदयपुरको बेलका नगरपालिकामा सप्तकोशी पसेपछि विस्थापित भएकाहरु रेडक्रस भवन बानडाँडा, खसीबोका संकलन केन्द्र कन्तेचौरी, सातपत्रे आधारभूत विद्यालय र कोशी मावि गरी ४ ठाउँमा बसिरहेका छन् । आफ्नो घर छोडेर बस्दा प्रभावितहरु स्वास्थ्यसँगै मानसिक रुपमा पनि कमजोर हुँदै गएका छन् ।

प्रभावितमध्ये बालबालिका र वृद्धवृद्धामा रुघाखोकी र ज्वरो आउन थालेको छ । यससँगै हात खुट्टामा घाउ आउने र झाडा पखालाले बिरामी पर्नेको संख्या पनि बढ्न थालेको छ । बालबालिका कुपोषणको उच्च जोखिममा छन् । बिरामीको संख्या बढ्न थालेपछि नगरपालिकाले स्वास्थ्य टोली खटाएको छ ।

पीडितहरुमध्ये कतिपय आफन्तको घरमा बसिरहेका छन् । आर्थिक रुपमा सम्पन्नहरु आफ्नै हिसाबले बसेका छन् । विकल्प नभएका करिब १८० जनालाई नगरपालिकाले विभिन्न सार्वजनिक भवनहरुमा राखेको छ ।

नगर स्वास्थ्य शाखा प्रमुखको नेतृत्वमा ६ जनाको स्वास्थ्य टोलीले बेला बेलामा पीडितहरुको स्वास्थ्य परीक्षण गरिरहेको छ । विपद्को समयमा अभाव हुन नदिन नगरपालिकाले विभिन्न निकायसँग समन्वय गरिरहेको छ ।

आश्रय लिइरहेका प्रभावितहरु बाढीको सम्भावित खतराबाट त जोगिएका छन् । तर, स्वास्थ्यमा नै समस्या आउन थालेपछि भने चिन्तित छन् । पीडितको समस्या समाधान गर्न नगरपालिकाले केही पहल गरे पनि पर्याप्त छैन । यसप्रति स्थानीय निकायसँगै संघ र प्रदेश सरकार गम्भीर भएर काम गर्न जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *