डेंगु परीक्षण गराउनेहरुको संख्या बढ्यो (भिडियो रिपोर्टसहित)

२०७९ साउन २१ गते १६:२२
डेंगु परीक्षण गराउनेहरुको संख्या बढ्यो (भिडियो रिपोर्टसहित)

२१ साउन २०७९ रुपन्देही । रुपन्देहीको सरकारी तथा निजी स्वास्थ्य संस्थाहरुमा पछिल्लो साता डेंगु परीक्षण गराउनेहरुको संख्या बढेको छ । परीक्षण गराउनेको संख्या बढे पनि रोग नियन्त्रणका लागि सम्बन्धित निकायले कुनै योजना भने बनाएको छैन ।

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा मात्रै दैनिक ७० जना बढी डेंगु परीक्षणका लागि आउने गरेका छन् । परीक्षण भएका नमूनामध्ये झण्डै ५० प्रतिशत अर्थात दैनिक ३० जना बढीमा पोजेटिभ भेटिने गरेको छ । अस्पतालको आकस्मिक कक्षमा पनि दैनिक २५ देखि ३० जनाको परीक्षण गरेकामध्ये १५–१६ जना र ओपिडीमा आउने दैनिक औसत ४० जनामध्ये १५ जनामा डेङ्गु पोजेटिभ भेटिने गरेको छ ।

रुपन्देही जिल्लामा साउन महिना शुरु भएदेखि डेंगु संक्रमितको संख्या बढेको हो । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बुटवल, सैनामैना, देवदह र तिलोत्तमामा डेंगुका बिरामी बढेका छन् । संख्या दिनानुदिन बढ्दै गएकाले सचेत रहन स्वास्थ्य कार्यालय, रुपन्देहीले अनुरोध गरेको छ ।

सरकारी तथा निजी अस्पताल डेङ्गुका बिरामीले भरिएका छन् । यी मध्ये धेरै गम्भीर प्रकृतिका बिरामीलाई चितवन तथा काठमाडौं पठाइएको छ । लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको विषयमा विगतमा पनि सचेतनामूलक कार्यक्रम गरिएको थियो । यो वर्ष पनि लुम्बिनी प्रदेश सरकारले प्रभावकारी योजना ल्याउन सकेको छैन ।

एडिस जातिको पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरोमध्ये एक हो, डेंगु । ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुने डेंगुका सुरुवाती लक्षण हुन् । एक प्रकारको विषाणुबाट डेङ्गु भएको व्यक्तिलाई अर्को प्रकारको विषाणु भएको लामखुट्टेले टोकेमा डेंगु घातक हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *